१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

महाकाली अस्पतालमा सिटी स्क्यान सेवा सुरु

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा थपिएको छ। अस्पतालले ६४ स्लाइसको सिटी स्क्यान सेवा थपेर आगामी सातादेखि सेवा सुरु  गर्ने तयारी गरेको महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले जानकारी दिए।

‘६४ स्लाइसको सिटी स्क्यान मेसिन अस्पतालमा पुगेर जडान कार्य अन्तिम चरणमा छ,’ उनले भने, ‘अर्को हप्तादेखि सेवा सुरु  गर्ने गरी तयारीमा लागेका छौं।’ अस्पतालले सिटी स्क्यान जडानका लागि गत फागुनमा बालाजी सर्जिकल सप्लायर्ससँग तीन करोड ८३ लाख ५५ हजार ५ सय ६० रुपयाँमा सम्झौता गरेको थियो। अस्पतालमा सिटी स्क्यान सेवा सुरु  भएपछि यहाँका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने उनले बताए।  

विगतको तुलनामा अस्पतालले विशेषज्ञसहितको सेवामा सुधार गर्दै गएको अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए। ‘विगतको तुलनामा यहाँबाट सेवा लिने बिरामीको संख्या बढेको छ,’ उनले भने, ‘यहाँको मुख्य आवश्यकता सिटी स्क्यान थियो, त्यो सेवा पनि सुरु  हुने अवस्थामा छ, यसले यहाँका बिरामीहरूलाई ठूलो राहत पुग्छ।’ 

उनले अस्पतालमा अहिले एउटै विभागमा दुई-तीन जना विशेषज्ञ चिकित्सकले सेवा दिइरहेकाले सेवाग्राहीलाई उपचारमा सजिलो भएको बताए। ‘अहिले विशेषज्ञ चिकित्सक सेवा थपिँदै गएको छ, सरकारले त्यहीअनुसारको भौतिक पूर्वाधार र स्वास्थ्य उपकरण पनि थप्दै गएको छ,’ उनले भने, ‘अब कुनै पनि बिरामीले यहाँबाट अन्यत्र रिफर हुनुपर्दैन।’ रिफर सेन्टरका रूपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय २३ जना विशेषज्ञ चिकित्सकसहितको सेवा दिन थालेको छ।  

अस्पतालमा मेडिसिन, हाडजोर्नी, सर्जरी, स्त्री तथा प्रसूति रोग, रेडियोलोजी, एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा थपिएको छ। अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एक जना मात्रै दरबन्दीमा कार्यरत छन्। अन्य विशेषज्ञ चिकित्सक छात्रवृत्ति, करार र अस्पताल व्यवस्थापन समितिबाट करारमा सेवा दिँदै आएका छन्। ‘अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा यहाँबाट दैनिक ८-१० जना बिरामी अन्यत्र रिफर हुने गरेका थिए, अब त्यो समस्या हट्ने भएको छ,’ यहाँका स्थानीय इन्द्र साउँदले भने, ‘अब घरनजिकै सहुलियत शुल्कमा यहाँका स्थानीयले सिटी स्क्यानलगायतको विशेषज्ञ सेवा पाउनेछन्।’  

२०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको अस्पताल २०३१ मा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो। जिल्ला अस्पतालबाट स्तरोन्नति हुँदै २०४३ सालमा ५० शय्याको अञ्चल अस्पताल (रिफरल सेन्टर) का रूपमा परिणत भयो। मुलुकमा सङ्घीयतापछि प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति भएपछि भने अस्पतालले विशेषज्ञ सेवा दिन थालेको हो।  

अस्पतालमा स्वीकृत स्थायी दरबन्दीअनुसार एघारौँ तहका विशेषज्ञ चिकित्सक चार जना र नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी छ। अहिले अस्पतालमा मेडिसिन विभागमा चार जना, हाडजोर्नी विशेषज्ञ तीन जना, स्त्री रोग विशेषज्ञ तीन जना, बालरोग विशेषज्ञ दुई जना, नाक-कान-घाँटी विशेषज्ञ दुई जना, एनेस्थेसियोलोजिस्ट दुई जना, सर्जरी विशेषज्ञ तीन जना र रेडियोलोजिस्ट दुई जना कार्यरत छन्। त्यसैगरी एक जना मानसिक रोग विशेषज्ञ कार्यरत छन्। अस्पतालमा जनरल फिजिसियन, प्याथोलोजिस्ट, डर्माटोलोजिस्ट विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हालसम्म दरबन्दीअनुसारका चिकित्सक उपलब्ध हुन सकेका छैनन्। रासस

प्रकाशित: २८ भाद्र २०८२ ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App