५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

उदयपुरको सामुदायिक वनका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ५ लाख हिनामिनाको आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिका-१ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

समितिका पदाधिकारी र लेखापरीक्षकको मिलेमतोमा सरकारी रकम हिनामिना गरेको ठहर गर्दै आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

मुद्दा दायर गरिएकाहरूमा वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष मिना कुमारी चौधरी, सचिव जानकी कुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारु र लेखापरीक्षक तनुक लाल चौधरी रहेका छन्।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूले भवन निर्माण, वन पैदावार संकलन, उपभोक्तालाई ग्यास सिलिन्डर वितरण र सडक ग्राभेलको काममा नक्कली बिल भरपाई बनाई ५ लाख १५ हजार ३०२ रुपैयाँ हिनामिना गरेका छन्।

अनुसन्धानमा खुले अनुसार भवन निर्माणको प्राविधिक प्रतिवेदनमा ४ लाख ९५ हजार २५१ रुपैयाँ खर्च भएको देखिए पनि लेखापरीक्षणमा ८ लाख ८ हजार ४५३ रुपैयाँ देखाई ३ लाख १३ हजार रुपैयाँ बढी हिनामिना गरिएको छ।

काठ संकलनमा साधारण सभाले २ लाख ३७ हजार रुपैयाँ अनुमोदन गरेकोमा ३ लाख ५४ हजार रुपैयाँ खर्च देखाई १ लाख १६ हजार रुपैयाँ हिनामिना गरिएको पाइएको प्रवक्ता न्यौपानेले जानकारी दिए।

यसैगरि ग्यास सिलिन्डरमा वास्तविक खर्चभन्दा बढी देखाई ७ हजार ७२० रुपैयाँ हिनामिना र सडक ग्राभेलमा काम नै नभएको सडक ग्राभेलको खर्च देखाई ७७ हजार ६०० रुपैयाँ हिनामिना गरिएको छ।

दर्तावाल लेखापरीक्षक तनुक लाल चौधरीले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्दा नापी किताब र बिल भरपाई नहेरी, नभएको कामलाई समेत भएको भनी प्रतिवेदन तयार पारेर भ्रष्टाचारमा सघाएको आयोगको दाबी छ।

आयोगले वन समूहका तीनैजना पदाधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो ५ लाख १५ हजार ३०२ रुपैयाँ कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग गरेको छ।

यस्तै, लेखापरीक्षक चौधरीविरुद्ध पनि कैद र जरिवानाको मागदाबी लिइएको आयोगले जनाएको छ ।

प्रकाशित: २२ पुस २०८२ १७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App