१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

बीबीसीको डकुमेन्ट्री ‘शट लाइक एनिमिज’ हटाउन पत्राचार

निर्वाचन आयोगले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन सम्बन्धी बीबीसीले सार्वजनिक गरेको डकुमेन्ट्री हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मुखमा यस्तो सामग्रीले शान्ति सुरक्षा र निर्वाचन आचारसंहितामा प्रभाव पार्न सक्ने भन्दै आयोगले भिडिओ हटाउन पहल थालेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बीबीसीको उक्त भिडिओ रिपोर्ट हटाउन बिहीबार काउन्सिललाई पत्र पठाइएको जानकारी दिएका छन्।

बीबीसीले हालै ‘शट लाइक एनिमिज’ शीर्षकमा करिब ४२ मिनेट लामो डकुमेन्ट्री सार्वजनिक गरेको थियो। अंग्रेजी र नेपाली दुवै भाषामा प्रसारित उक्त डकुमेन्ट्रीमा भदौ २३ र २४ को हिंसात्मक प्रदर्शन, सुरक्षा निकायले गरेको अत्यधिक बल प्रयोग र त्यसक्रममा मृत्यु भएका ७७ जनाको विषयमा विस्तृत अनुसन्धान गरिएको दाबी गरिएको छ।

रिपोर्टमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘पिटर १’ नामक कल साइन प्रयोग गरी प्रदर्शनकारीमाथि घातक बल प्रयोग गर्न आदेश दिएको दाबीसहितको ‘पुलिस रेडियो लग’ समेत सार्वजनिक गरिएको छ।

डकुमेन्ट्रीमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई दोषी ठहर गर्ने कोसिस गरिएको छ। प्रहरीकै गोप्य स्रोतबाट उनले दिएको आदेश ‘लिक’ गरिएको दावी गरे पनि यसलाई प्रहरी प्रवक्ताले भने अस्वीकार गरेका छन्।

प्रकाशित: १४ फाल्गुन २०८२ २०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App