८ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

जुम्ली स्याउको बजार खोज्दै सहकारी

जुम्लाका बगैंचामा यति बेला स्याउ टिप्ने चटारो छ। रातो हुँदै गएका स्याउका दाना टिपेर किसान कार्टुनमा सजाइरहेका छन्। कतै परिवारका सबै सदस्य बगैंचामा छन्, कतै मजदुर लगाएर स्याउ टिपिँदैछ। वर्षभरि बगैंचा कुरेका किसानका लागि यो आम्दानीको मुख्य समय हो।

तर, स्याउ पाक्नु जति खुसीको कुरा हो, त्यसलाई उचित मूल्यमा बेच्नु त्यति नै ठूलो चुनौती। उत्पादन बढेको छ। बगैंचा विस्तार भएका छन्। फल दिने बोटको संख्या बढेको छ। तर, बजारको आकार र पहुँच किसानको उत्पादनको गतिसँगै बढ्न सकेको छैन। यही कारण स्याउ पाक्ने सिजन सुरु हुनासाथ किसानमाथि अर्को दबाब थपिन्छ, छिटो बेच्नुपर्ने।

व्यापारी बगैंचामै पुग्छन्। किसानले वर्षभरि गरेको खर्च, श्रम र जोखिमको हिसाब गर्न नपाउँदै मूल्य तोकिन्छ। बजारसम्म पुर्याउने झन्झट, भण्डारणको अभाव र तत्काल नगद चाहिने बाध्यताले किसान धेरैपटक व्यापारीले भनेकै मूल्य स्वीकार गर्न बाध्य हुन्छन्।

यस पटक भने जुम्लाको स्याउ बजारमा पुर्याउने तरिकामा केही फरक देखिएको छ। जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी किसानको बगैंचामै पुगेको छ। किसानले व्यापारी खोज्दै बजार धाउनुपर्ने होइन, बजार नै किसानको बगैंचामा पुग्ने प्रयास सुरु भएको छ।

चन्दननाथ बहुउद्देश्यीय सहकारीले यस वर्षदेखि बगैंचामै पुगेर स्याउ खरिद गर्न थालेको हो। सहकारीको लक्ष्य तीन लाख किलो स्याउ संकलन गरी देशका ठूला बजारमा पुर्याउने छ। सहकारीकी अध्यक्ष विष्णु बुढाका लागि यो ल स्याउ खरिद गर्ने कार्यक्रम मात्रै होइन। किसान र बजारबीचको दूरी घटाउने प्रयास हो।

‘किसानले उत्पादनको उचित मूल्य नपाउने र बिचौलियाको प्रभाव बढ्दै जाने समस्या थियो,’ उनले भनिन्, ‘त्यही समस्या समाधान गर्न किसानकै बगैंचामा पुगेर स्याउ संकलन गरिरहेका छौं।’

सहकारीले स्याउको आकार, प्रकार र गुणस्तर हेरेर मूल्य निर्धारण गर्ने जनाएको छ। बजारमा चलिरहेको मूल्यभन्दा प्रतिकिलो पाँच रुपैयाँ बढी दिने घोषणा गरेको छ। यस पटक गुणस्तरअनुसार बगैंचामै प्रतिकिलो ९० रुपैयाँसम्म मूल्य दिइएको छ।

गत वर्ष किसानले बगैंचामै प्रतिकिलो ६० देखि ७० रुपैयाँसम्ममा स्याउ बिक्री गरेका थिए। मूल्यमा देखिएको यो अन्तर किसानका लागि सामान्य अंक होइन। यही अन्तरले वर्षभरि गरेको श्रमको प्रतिफल कति फेरिन्छ भन्ने निर्धारण गर्छ। चन्दननाथ नगरपालिका–३ खालिकोट गाउँका वरिष्ठ स्याउ किसान रामकृष्ण बुढ्थापाले यसपटक बजारीकरणमा फरक अनुभव गरेका छन्।

‘पहिले स्याउ किन्ने व्यापारी पाउनै कठिन थियो। व्यापारी भेटिए पनि मूल्य पाउन मुस्किल हुन्थ्यो,’ उनले भने, ‘अहिले सहकारी बगैंचामै आएर स्याउ लिन थालेपछि बजारीकरणमा निकै सहज भएको छ।’

किसानका लागि समस्या मूल्यको मात्रै होइन। स्याउ टिपेपछि त्यसलाई छान्ने, प्याक गर्ने, बोकेर सडकसम्म पुर्याउने र बजार खोज्ने काम पनि उत्तिकै कठिन छ। दुर्गम भूगोलका कारण ढुवानी खर्च अर्को चुनौती हो। सहकारी बगैंचामै पुग्दा किसानले यीमध्ये धेरै झन्झटबाट छुटकारा पाउनेछन्। तर बुढ्थापाको अर्को आग्रह पनि छ, अब किसानले पनि गुणस्तरमा सम्झौता गर्न हुँदैन।

सहकारीले स्थानीय र फुजी जातका स्याउ खरिद गरिरहेको छ। यसका लागि गाउँपालिका, किसान र सहकारीको पहिचान झल्किने ३० हजार कार्टुन तयार पारिएको छ। एउटा कार्टुनमा १० किलो स्याउ प्याक हुनेछ। तीन लाख किलो स्याउ अर्थात् करिब ३० हजार कार्टुन स्याउ जुम्लाबाट देशका विभिन्न बजारतर्फ जानेछन्। सुर्खेत, नेपालगन्ज र काठमाडौं सहकारीको मुख्य बजार हुन्।

सहकारीका प्रबन्धक ऋषिराम पाण्डेका अनुसार स्याउलाई बगैंचाबाट संकलन गरेर व्यवस्थित रूपमा बजारमा पठाउने योजना छ। यसले किसान र उपभोक्ताबीचको दूरी घटाउने अपेक्षा गरिएको छ। ‘यस वर्षदेखि स्याउको व्यवस्थित बजारीकरण सुरु गरेका छौं,’ पाण्डेले भने, ‘किसानको बगैंचाबाटै स्याउ लिएर ठूला बजारसम्म पुर्याउने हाम्रो लक्ष्य हो।’

जुम्लाको स्याउको अर्को समस्या हो, सबै स्याउ एउटै बजारका लागि उपयुक्त हुँदैनन्। यस पटक सहकारीले स्याउलाई 'ए', 'बी' र 'सी' गरी तीन ग्रेडमा वर्गीकरण गर्ने व्यवस्था गरेको छ। राम्रो स्याउ ताजा फलका रूपमा बजारमा जानेछ। तर बजारमा पठाउन नमिल्ने स्याउलाई पनि खेर जान दिइने छैन।

'सी' ग्रेडभन्दा कम गुणस्तरका स्याउबाट जुस, जाम, जेली र ड्राइ एप्पलजस्ता प्रशोधित वस्तु बनाउने योजना छ। यसले स्याउको मूल्य केवल ताजा फलको बजारमा सीमित नराखी प्रशोधन उद्योगसँग जोड्ने बाटो खोल्नेछ। जुम्लाका किसानको अर्को बाध्यता हो, एकैपटक बजारमा आउने ठूलो परिमाणको स्याउ। सबै किसानले एउटै समयमा स्याउ बजारमा पठाउँदा मूल्य घट्ने सम्भावना हुन्छ। बिक्री नभएको स्याउ राख्ने पर्याप्त सुविधा नहुँदा किसानलाई तत्काल बिक्री गर्नुपर्ने बाध्यता हुन्छ।

सहकारीले यही समस्यालाई ध्यानमा राखेर आफ्नै कोल्डस्टोर निर्माण गरेको छ। तत्काल बजार नपाएको स्याउ भण्डारण गरेर पछि बिक्री गर्ने योजना छ। यदि यो व्यवस्था प्रभावकारी रूपमा सञ्चालन भयो भने किसानले स्याउ टिप्ने बित्तिकै बेच्नुपर्ने दबाबबाट केही हदसम्म मुक्ति पाउनेछन्। जुम्ली स्याउको बजार विस्तारसँगै गुणस्तर जोगाउने चुनौती पनि उत्तिकै महत्वपूर्ण छ।

पछिल्ला वर्षहरूमा स्याउ पाक्नुअघि नै बजार पठाउने प्रवृत्तिले जुम्ली स्याउको गुणस्तरमा प्रश्न उठ्ने गरेको छ। यही कारण जिल्लामा सर्वपक्षीय बैठकले भदौको पहिलो सातापछि मात्र स्याउ संकलन तथा बिक्री–वितरण सुरु गर्ने निर्णय गरेको छ। कृषि प्राविधिकले स्याउ परिपक्व भएको प्रमाणित गरेपछि मात्रै टिप्न र बजारमा पठाउन सिफारिस गर्ने व्यवस्था गरिएको छ।

किसानका लागि तत्कालको आम्दानीभन्दा दीर्घकालीन बजार महत्वपूर्ण भएकाले गुणस्तरमा सम्झौता नगर्न कृषि अधिकारीहरूले आग्रह गरेका छन्। जुम्लाको स्याउ कथा  एउटा फलको कथा मात्रै होइन। यो जिल्लाको ग्रामीण अर्थतन्त्रको कथा हो।

जिल्लामा करिब १८ हजार घरधुरी छन्। तीमध्ये १६ हजार घरधुरीका स्याउ बगैंचा छन्। अर्थात् अधिकांश ग्रामीण परिवारको आम्दानीसँग स्याउ प्रत्यक्ष जोडिएको छ।कृषि विकास कार्यालयका अनुसार जुम्लामा ४ हजार ६ सय ४ दशमलव ५३ हेक्टरमा स्याउ खेती भइरहेको छ। यस वर्ष २ हजार ३ सय ३८ हेक्टरमा फल लागेको छ। उत्पादन १८ देखि २० हजार मेट्रिकटनसम्म पुग्ने अनुमान छ।

उत्पादनको यो आकारले एउटा प्रश्न पनि खडा गर्छ, जुम्लाले स्याउ फलाउन सिक्यो, अब त्यसको मूल्य लिन कहिले सिक्नेरुयही प्रश्नको उत्तर खोज्ने प्रयासमा सहकारी, किसान र सरकारी निकाय एकै ठाउँमा उभिएका छन्। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारी उत्पादनसँगै बजार व्यवस्थापन बलियो बनाउनुपर्ने बताउँछन्।

‘यस पटक ठूलो मात्रामा स्याउ सहकारीले आफैँ लैजाने भएकाले किसानलाई सहज भएको छ,’ उनले भने, ‘किसानले गुणस्तरीय स्याउ दिनुपर्यो, सहकारीले मेहनतअनुसारको मूल्य दिनुपर्यो। यसले जुम्ली स्याउको पहिचान र बजार दुवै बढाउन सक्छ।

जुम्लाका बगैंचामा अहिले स्याउ टिप्ने हातहरू व्यस्त छन्। कार्टुन भरिँदै छन्। ट्रक र गाडीहरू बजारतर्फ जाने तयारीमा छन्।

प्रकाशित: ८ भाद्र २०८३ ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App