जिल्ला प्रहरी कार्यालय पर्साले नियम-कानुनभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्ने नियत राखेर कार्य गरिरहेको पीडितले आरोप लगाएका छन्। घटनाका दोषीलाई संरक्षण गर्ने र समाजमा रहेका प्रतिष्ठित व्यक्तिहरूलाई बनावटी मुद्दामा प्रतिवादी बनाएर अपराधीकरण गर्दा त्रासको माहोल बनेको वीरगन्जका स्थानीयले गुनासो गरेका छन्।
दोषीलाई संरक्षण र निर्दोषलाई बनावटी मुद्दा खडा गरेर दुःख दिने कार्यमा पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लको भूमिका रहेको पीडितले बताएका छन्। मल्ल केही वर्षपहिला प्रहरी निरीक्षक हुँदा वीरगन्जको वडा प्रहरी कार्यालय श्रीपुरका इन्चार्ज भएर बसेका थिए। श्रीपुरमा बस्दा तस्कर, बिचौलिया, दलाल सबैसँग उनको राम्रो सम्बन्ध थियो। पुरानो सम्बन्धका आधारमा बिचौलिया र दलालले जिल्ला प्रहरी कार्यालय पर्साका मुद्दा शाखा हेर्ने जिम्मा पाएका मल्ललाई प्रयोग गरेर दोषीलाई संरक्षण र निर्दोषलाई बनावटी मुद्दामा फसाउने कार्य भएको आरोप छ।
हालै अनुसन्धान गरिएको हवाई इन्धन चोरी प्रकरण, नेपाल आयल निगमबाट इन्धन ढुवानीका लागि इजाजतपत्र दिलाउने नाममा ट्यांकर धनीबाट अवैध असुली प्रकरण र ठगी तथा आपराधिक विश्वासघात मुद्दामा प्रहरी हिरासतमा रहेका सञ्जय ठाकुर गरी तीन वटै प्रकरणमा पर्सा प्रहरीको भूमिका विवादित देखिएको छ। गत साउन २१ मा काठमाडौंस्थित हवाई इन्धन डिपोमा पुग्नुपर्ने हवाई इन्धन बोकेको ना ७ ख १५३९ नम्बरको ट्यांकरको सिल नफुटाई फलामको पाइपमा जडान गरिएको हुक प्रयोग गरी सुनैन मियाँ सञ्चालक रहेको सौदागर पेट्रोलपम्पमा हवाई इन्धन चोरी गरिएको थियो।
ट्यांकरबाट सरकारी इन्धन चोरी गरिरहेको सूचना पाएर जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्ल नेतृत्वको टोली घटनास्थल पुगेको थियो। घटनास्थल पुग्दा पम्प सञ्चालक सुनैन मियाँसहित सात जनालाई ट्यांकरबाट सरकारी इन्धन चोरी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। सुनैन मियाँसहित पक्राउ परेका सात जनाका बारेमा पत्रकार सम्मेलन गरी पर्सा प्रहरीले ठुलो सफलता पाएको दाबी गरेको थियो। पक्राउ सात जनामाथि नै पर्सा प्रहरीले चोरी र आपराधिक विश्वासघात मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानकै क्रममा चोरीका मुख्य अभियुक्त भनिएका सुनैन मियाँलाई पर्सा प्रहरीले तुफान फारुब अन्सारीको जिम्मामा भदौ ७ गते थुनामुक्त गर्यो।
सुनैन मियाँसम्बन्धी मुद्दा अनुसन्धान ५ दिनभित्र सकेर अदालतमा पेस गर्न वा अनुसन्धान नटुंगिएमा हाजिर जमानीमा औषधोपचारका लागि छाड्न पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीले २०८३ भदौ २ गते आदेश दिएको भन्दै हिरासतमुक्त गरिएको पर्सा प्रहरी प्रमुख पवन भट्टराईले बताएका छन्।
पर्सा प्रहरीले जिल्ला न्यायाधिवक्तको कार्यालयमार्फत भदौ १५ गते पर्सा अदालतमा अभियोग पत्र पेस गर्दै सुनैन मियाँलाई अनुपस्थित देखायो। सुनैन मियाँ वा उनलाई जिम्मामा बुझ्ने तुफान फारुब अन्सारीलाई अभियोग पत्रसहित अदालतमा उपस्थित गराउनुभन्दा पर्सा प्रहरीले उपस्थित नगराएको जिल्ला न्यायाधिवक्ता जिल्ला सरकारी कार्यालय पर्साका प्रमुख मनोजकुमार गुप्लेले आरोप लगाएका छन्।
घटना अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिलाई अदालतमा अभियोग पत्रसहित पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको गुप्ताले बताए। सुनैन मियाँ वा उनलाई जिम्मा लिने तुफान फारुब अन्सारीलाई अहिलेसम्म अदालतमा पेस नगरिएका कारण उनीहरूको हकमा कुनै आदेश नदिएको पर्सा जिल्ला अदालतले जनाएको छ। यस घटनामा पर्सा प्रहरीले पक्राउ परेको व्यक्तिलाई बिचैमा छाडेर अदालतमा उपस्थित नगराउने कार्यले कानुन उल्लंघन गरेको आरोप वीरगन्जका कानुन व्यवसायीको छ।
भदौ २ मा पर्सा प्रहरीले ट्यांकरधनीबाट हवाई इन्धन ढुवानी गर्न चाहिने इजाजतपत्रलाई नेपाल आयल निगमसँग दिलाउने नाममा अवैध रकम असुली गरेको घटनाको अनुसन्धान गरी अभियोग पत्र जिल्ला सरकारी वकिल कार्यालय पर्सामार्फत पर्सा जिल्ला अदालतमा दर्ता गर्यो। नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोजकुमार दाससहित आठ जनाले एक करोड पाँच लाख रकम अवैधरूपमा ट्यांकरधनीबाट हवाई इन्धन ढुवानी गर्न चाहिने इजाजतपत्रका नाममा असुली गरेको पर्सा प्रहरी प्रवक्ता मल्लले दाबी गरेका थिए।
ट्यांकरधनीबाट असुली गरिएको रकम प्रतिवादीले आफ्नो खातामा मगाएको अनुसन्धानबाट खुलेको मल्लले बताएका थिए। मल्लले प्रतिवादीहरू ट्याकरधनीबाट खातामा रकम बगाएको बताए पनि मनोजकुमार दासको खातामा कसैबाट पनि रकम दाखिला गरिएको प्रमाण पर्सा प्रहरीले अदालतमा पेस गरेको अभियोग पत्रमा उल्लेख गरिएको छैन। बरु हरबिन्दर सिंहले दासको मानिसलाई पैसा एक लाख रुपैयाँ दिएको भनेर पोलेकोलाई प्रमाण बनाइएको अदालतमा दर्ता गराएको अभियोग पत्रमा उल्लेख गरेको छ।
नेपालको प्रमाण ऐनको दफा ९(क) ले कुनै व्यक्तिलाई पोलेको भरमा प्रतिवादी बनाउन नमिल्ने उल्लेख गरेको छ, तर पर्सा प्रहरी पोलेकै भरमा प्रतिवादी बनाएर दासजस्तो प्रतिष्ठित व्यवसायी र समाजसेवीलाई अपराधीकरण गरेको आरोप छ। मनोजकुमार दासले मेरो तीन पुस्तादेखिको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले मलाई प्रतिवादी बनाइएको आरोप लगाएका छन्। यो मुद्दा पर्सा जिल्ला अदालतमा रहेकाले अदालतले मलाई न्याय दिने विश्वास रहेको दासले बताए। पर्साका प्रहरी प्रमुख पवन भट्टराईले दासलाई पोलेकै आधारमा प्रतिवादी नबनाइएको तर्क गरेका छन्।
कुनै पनि घटनामा संलग्न रहेको प्रतिवादीले पोलेको व्यक्ति प्रतिवादी हुने कानुनी व्यवस्था रहेको उनले बताए, तर दासको नाम पोलेका हरबिन्दर सिंहलाई पर्सा प्रहरीले यस घटनामा प्रतिवादी नबनाएको पर्सा जिल्ला अदालतले जनाएको छ।
भदौ २४ गते ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पर्सा प्रहरीले काठमाडौंबाट सञ्जय ठाकुरलाई पक्राउ गरेर हिरासतमा राखेको छ। विवादित स्काइलाइन मलका सञ्चालक राजेश अग्रवाललगायत अन्य सञ्चालकलाई ठाकुरले धाकधम्की दिएर रकम असुलेको जाहेरी स्काइलाइन मलका प्रतिनिधि लीलानाथ नेपालले दिएको पर्सा प्रहरी प्रवक्ता मल्लले बताए।
फौजदारी कानुनअनुसार पीडित व्यक्तिले प्रहरीमा जाहेरी दिनुपर्ने नियम छ, तर कुनै प्रकारको लेनदेन नभएको, बनावटी मुद्दा खडा गरेर त्यसलाई दर्ता गराएर पक्राउपुर्जी लिन स्काइलाइनका सञ्चालकहरू सफल बनेको सञ्जय ठाकुरका छोरा पुष्कर ठाकुरले आरोप लगाएका छन्। पीडित भनिएका राजेश अग्रवालले सञ्जय ठाकुरविरुद्ध जाहेरी नदिएको र सञ्जय ठाकुरले स्काइलाइन मलका सञ्चालकलाई धाकधम्की वा रकम ठगेको कुनै प्रमाण प्रहरीमा नभए पनि जबरजस्ती बुबालाई थुनेर राखिएको आरोप ठाकुरले लगाए।
पर्सा प्रहरी प्रमुख भट्टराईले सञ्जय ठाकुर पहिलादेखि फौजदारी मुद्दामा फरार रहेकाले उसलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको तर्क गरेका छन्। पर्सा प्रहरीले अहिले नियम-कानुनलाई ध्यानमा राखेर काम गरेको र यसमा दोषीलाई संरक्षण र निर्दोषलाई बनावटी मुद्दामा प्रतिवादी बनाएर दुःख दिने गरेको भनाइ गलत रहेको उनले बताए।
सञ्जय ठाकुरले स्काइलाइनका सञ्चालकलाई धाकधम्की दिएको वा रकम ठगेको सम्बन्धित कुनै पनि प्रमाण जाहेरी दिने व्यक्तिले नदिएको अवस्थामा कसरी मुद्दा दर्ता भएर पक्राउ पुर्जी जारी गरिएको प्रश्नमा उनले यो पुरानो मुद्दा भएकाले फाइल हेर्नुपर्ने जवाफ दिए।
प्रकाशित: ३० भाद्र २०८३ ११:५९ मंगलबार


-600x400.jpg)


