निरन्तर हिमपातका कारण म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक समस्यामा परेका छन्। तीमध्ये तीन बेलायती महिला र १२ स्वदेशी पर्यटक छन्।
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा सोमबार रातीदेखि भएको निरन्तर हिमपातले पदमार्ग पुरिएपछि १२ नेपाली र तीन बेलायती पर्यटकहरू सो भ्यालीमा रोकिएका हुन्।
धौलागिरि र सिता हिमालका बीचमा समुन्द्री सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको हिडन भ्यालीमा बास बसेका उनीहरू सुरक्षित रहेका म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए।
“काठमाडौंको सेक्रेट हिमालय ट्रेड एण्ड एक्पिडिसन ट्राभल एजेन्सी मार्फत पदयात्रामा गएका बेलायती पर्यटकले हिंड्न गाह्राे पर्ने भएकाले मंगलबार साँझ सम्बन्धित कम्पनी मार्फत हेलिकप्टरबाट उद्धारको ब्यवस्था मिलाउन अनुरोध गरेका थिए,” उनले भने, “बुधबार बिहानसम्म सम्पर्कमा रहेका उनीहरू सकुशल छन्।”
म्याग्दी र मुस्ताङको जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकाय मार्फत उद्धार टोली पठाउने प्रयास गरेपनि हिउँ पर्न नरोकिएकाले समस्या भएको छ। हिउँ पर्न रोकिएर मौसम सफा भएपछि स्थल र हवाई मार्गबाट हिडन भ्याली पुग्न सकिन्छ। उनीहरू रहेका स्थानमा होटल र घर छैन। सेक्रेट हिमालय ट्रेड एण्ड एक्सपीडिसनका व्यवस्थापक विनय लामाका अनुसार बेलायती नागरिकत्रय म्यारी रिप्पे, क्यारिराइन विल्सन र इमिल्ली क्याट्स हिडन भ्यालीमा छन्।
पथप्रर्दशकले स्याटेलाइट फोन मार्फत उद्धारको अनुरोध गरेका व्यवस्थापक लामाले बताए। हिमपात रोकिएर मौसम सफा भएमा हेलिकप्टर पुग्न सक्ने र हिउँ पग्लिएर बाटो पत्ता लगाउन सके मात्र सुरक्षित स्थलतर्फ हिंड्न सक्छन्। त्यहा मोवाइल र इन्टरनेट सेवाको पहुँच छैन।
प्रकाशित: १२ कार्तिक २०८२ ११:५२ बुधबार





