तीन दिनदेखि लगातारको वर्षाले सिंगो मुलुक प्रभावित भएको छ। नारायणी नदीको पानीको सतह अहिलेसम्मकै उच्च रहन पुग्यो भने दर्जनौं घर डुबानमा परे। बुटवलमा तिनाउले ६ घर बगाउनुका साथै वर्षाले धानबालीमा क्षति पुर्यायो।
लालबकैया नदीमा आएको बाढीले मर्यादपुरमा तटबन्ध कटान गर्नुका साथै आधा दर्जन बस्ती जोखिममा परेका छन्। हिमाली जिल्लामा बाढी र हिमपातले जनजीवन सकसमा परेको छ। यातायात सेवा प्रभावित भएका छन् भने कृषि क्षेत्रमा धेरै क्षति पुर्याएको छ। हिमपातमा परी केही मानिस हराइरहेका छन्।
चितवनबाट नागरिककर्मी वसन्त ढुंगानाका अनुसार चितवनको भरतपुर महानगरपालिका– १ स्थित देवघाटमा रोटरीद्वारा सञ्चालित वृद्धाश्रमका व्यवस्थापक कृष्ण आचार्य चिन्तित देखिन्थे। आइतबार आएको नारायणीको बाढीले वृद्धाश्रम डुबाएपछि त्यहाँ रहेका वृद्धवृद्धालाई कहाँ राख्ने भन्ने चिन्ता आचार्यलाई थियो। ‘अहिलेसम्म यति माथि नारायणी आएको थिएन। २०८१ सालमा तल्लो भागसम्म आएको थियो’, डुबेका र नारायणीले भत्काएका भवन देखाउँदै आचार्यले भने, ‘अहिले एउटाबाहेक सबै भवन बाढीले डुबाएको छ।’ यस आश्रममा ३० जना वृद्धावृद्ध रहेका छन्।
लगातारको वर्षाका कारण चितवनका विभिन्न खोलानाला तथा नदीमा पानीको बहाब बढ्दा बस्ती डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणी नदीसहित स्थानीय खोलामा पानीको सतह बढेपछि केही बस्तीमा पानी पस्न थालेको छ भने केही स्थानमा सडकसमेत अवरुद्ध भएको छ।
आइतबार पूर्वीचितवनको पम्पा खोला, राप्ती खोला, कैयर खोला, लदरी खोलाहरूमा पानीको बहाब बढेको थियो। भरतपुर महानगरपालिका– १६ स्थित गुम्बाचौर झनझनेमा पनि नारायणी बस्तीमा छिरेको छ। त्यहाँ १३० घर, गुम्बाचौरका २० र सिद्धिगणेश सांस्कृतिक टोलका १० घरधुरीलाई स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकृत चन्द्रभूसन यादवले जानकारी दिए। उनीहरूलाई जनप्रतिनिधि तथा टोल सुधार मार्फतमार्फत आधारभूत विद्यालय शरणपुरमा खानपानको व्यवस्था गरिएको उनले बताए।
भरतपुर महानगरपालिका– १७ र १ नम्बर वडाका विभिन्न ठाउँमा बस्तीमा पानी छिरेको प्रहरीले जानकारी दिएको छ। त्यस स्थानबाट ११ घरधुरीलाई विद्यालयमा सारिएको छ। यता माडी नगरपालिका– १ मा ३५ घरधुरीका मानिसलाई नजिकैको आफन्तका घरमा स्थानान्तरण गरिएको प्रहरीले जानकारी दिएको छ।
भरतपुर– १ स्थित देवघाटका धर्मशाला, कुटी, मन्दिर, पसलहरू डुबानमा परेका छन्। उता माडी नगरपालिका– १ अन्तर्गत रिउ खोलामा पानीको बहाब बढ्दा सेरुवा अमिलिया र चन्द्रपुरी बस्तीमा पानी पसेको प्रहरीले जनाएको छ। सो क्षेत्रमा १० घरधुरीलाई स्थानीय विद्यालयमा सुरक्षित राखिएको छ। सोही वडाको अर्को क्षेत्रमा पानीको सतह बढेपछि भरतपुर–माडी–ठोरी सडक अवरुद्ध भएको थियो।
माडी नगरपालिका– ९ कै प्याउली क्षेत्रमा पानी बस्तीमा पसेपछि ४ घरधुरीका १३ जनालाई शान्तिमण्डली चर्चमा स्थानान्तरण गरिएको छ। माडी नगरपालिका– ८ मा पनि पानी बस्तीमा पस्न थालेपछि ११ घरधुरीका ७० जनालाई मगर होमस्टेमा सुरक्षित राखिएको छ।
यता रत्ननगर नगरपालिका– ९ स्थित लालपर्साका १० वटा घर डुबानमा परेका छन्। नारायणी नदीमा रहेको क्रुजसिपसमेत बगाएको छ। अहिले नारायणी पुलमा आएर अड्किएको छ। नारायणीमा सवारी आवागमनसमेत केही समयका लागि बन्द गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले जानकारी दिए।
नारायणी नदी निरन्तर बढ्दो अवस्थामा रहेको छ। उत्ता गैंडाकोटतर्फ पनि नारायणीले डुबान गरेको छ। त्यहाँका १० घरलाई स्थानान्तरणसमेत गरिएको छ।
नारायणी नदीको नयाँ रेकर्ड, पानीको सतह ११.९१ पुग्यो
नारायणी नदीको पानीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ। लगातारको मुसलधारे वर्षाका कारण आइतबार दिउँसो २ः५६ को समयमा नारायणी नदीले नयाँ रेकर्ड कायम गरेको हो। जलमापन केन्द्र देवघाटमा दिउँसो ११.९३ मिटर पुगेको थियो। जलमापन केन्द्र स्थापनाकालदेखि हालसम्म नदीको सतह यति माथि पुगेको पहिलो हो।
आइतबार मध्याह्न २ः१३ बजे नदीको सतह ११ मिटर ९१ मिटर पुगेको थियो। यसअघि २०८१ असोज १२ गते ११.६ मिटर पुगेको थियो। त्यस्तै सोही वर्ष असार २२ गते १० मिटर ४६ सेन्टिमिटर पुगेको थियो। यस वर्ष नारायणीले इतिहासकै रेकर्ड ब्रेक गरेको जलमापन केन्द्र देवघाटका सुमित अधिकारीले जानकारी दिए।
पछिल्लो पाँच वर्षमा सन् २०२५ मा हालसम्मकै कम मापन गरिएको थियो। सो वर्षको सेक्टेम्बर २८ मा ६.३ मिटर पुगेको उनले बताए।
यस्तै सन् २०२३ को अगस्ट १४ मा ८.३३ मिटर पानीको मापन गरिएको थियो भने सन् २०२२ को अक्टोबर ६ मा ९.५२ मिटर पानीको सतह मापन गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ। सन् सन् २०२१ मा सबैभन्दा भने १०.५ मिटर पानीको सतह मापन गरिएको थियो।
नारायणी नदीमा नौ मिटर पानीको सतह पार गर्नुलाई खतरा मानिन्छ। मापनअनुसार सात मिटर ३० सेन्टिमिटर सतह पार गर्नुलाई नदीको बहाब मापदण्डभन्दा माथि रहेको सतर्कताको अवस्था मानिन्छ भने नौ मिटर पार गर्नु खतराको सूचकका रूपमा लिने गरिन्छ।
नारायणगढका व्यवसायी ज्ञानेन्द्रमान शाक्य २५ वर्षयताकै सबैभन्दा ठुलो बाढी भएको बताउँछन्। ‘यतिको वेगमा नारायणी आएको थाहा थिएन’, नारायणीको बुद्धको मूर्तिसमेत बनाएका शाक्यले भने, ‘समुद्रको जस्तो छाल भएर अहिलेसम्म आएको थिएन। अहिले त लिलाचोकसम्म नै बाढी छिर्यो यो पहिलोपटक हो।’
बुटवलबाट नागरिककर्मी रेखा भुसालका अनुसार बुटवलमा तिनाउ नदीले ६ वटा घर बगाएको छ। अविरल वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले गएराती नदीछेउको बस्ती टप मजुवाका ६ वटा घर बगाएको हो। बाढीको जोखिम रहेका नदी किनारका सयौंलाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कायालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए।
शनिबार साँझदेखि खतराको तह नाघेको तिनाउले बुटवल उपमहानगरपालिका ११ स्थित तिनाउ किनारको टप मजुवाका २ घर बगाउनुका साथै ४ घरमा क्षति पुगेको श्रीवास्तवले जानकारी दिए।
तिनाउले खतराको तह पार गरेलगत्तै नदीछेउछाउका बस्ती टप मजुवा, प्रगतिनगर, हात्तीसुढलगायतका बस्तीबाट करिब १३ सय स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो। शुक्रबारदेखि नै तिनाउआसपास र अन्य क्षेत्रका जोखिमका बस्ती निगरानीमा राखेर तत्कालै सुरक्षित स्थानमा सार्ने काम भएकाले मानवीय क्षति हुन नपाएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए।
जोखिममा रहेको बस्तीका स्थानीयलाई विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा राखिएको नगर प्रमुख पाण्डेले बताए। बाढीको जोखिम बढेसँगै नगर प्रमुख पाण्डेलगायतका जनप्रतिनिधि रातभर खटिएर स्थानीयलाई सुरक्षित स्थानमा सारेका थिए। अविरल वर्षाका कारण रूपन्देहीका दक्षिणी क्षेत्रका धानखेत डुबानमा परेको छ। फल सप्रने बेला अविरल वर्षा र हावाहुरीले धानखेतीमा क्षति पुगेको छ।
बुटवल पाल्पा सडक अवरुद्ध
पाल्पामा पहिरोमा परी गएराती एकजनाको मृत्यु भएको छ। जिल्लाको माथागढी गाँउपालिका– ३ रुपसेका ७५ वर्षीय शेरबहादुर चिदीको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
डिएसपी भट्टराईका अनुसार पहिरोले घर पुरिँदा उनी च्यापिएका थिए। परिवारका अरू सदस्य भने भाग्न सफल भएको डिएसपी भट्टराईले बताए। पाल्पामै पहिरोमा परेर शनिबार अर्की एक महिलाको पनि मृत्यु भएको थियो।
रिब्दीकोट गाँउपालिकाको ठिमुरेमा शुक्रबार राती पहिरोले घर पुरिँदा ५९ वर्षीय कृष्णकुमारी सारूको मृत्यु भएको हो। प्रहरीले शनिबार पहिरो पन्छाएर सारूको शव निकालेको थियो। शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पाल्पाका विभिन्न स्थानमा पहिरो खस्दा एक दर्जन बढी घरपरिवार विस्थापित भएको र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको डिएसपी भट्टराईले बताए।
त्यस्तै बुटवल–पाल्पाको डुम्रेनजिकै गौडा भन्ने स्थानमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।
रौतहटबाट नागरिककर्मी मदन ठाकुरका अनुसार निरन्तरको वर्षासँगै लालबकैया नदीमा आएको बाढीले रौतहटको मौलापुर नगरपालिका– १ मर्यादपुरस्थित तटबन्ध कटान गरेपछि आसपासका बस्तीमा डुबानको जोखिम बढेको छ।
तीन दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण नदीमा जलस्तर बढ्दै गएपछि मर्यादपुरसहित आसपासका करिब आधा दर्जन गाउँ बाढी तथा डुबानको उच्च जोखिममा परेका हुन्। तटबन्ध कटान भएका क्षेत्रमा थप क्षति हुन नदिन नदी नियन्त्रण तथा सुरक्षा निकायको टोली परिचालन गरिएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको नेतृत्वमा सुरक्षा निकायसहितको नदी नियन्त्रण टोलीले कटान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ। प्रजिअ पौडेलसँगै प्रहरी उपरीक्षक सीताराम रिजाललगायत सुरक्षा निकायका अधिकारी तथा मौलापुर नगरपालिकाकी मेयर रिनादेवी साहले जोखिमयुक्त क्षेत्रको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा नदीको जलस्तर, तटबन्धको अवस्था तथा सम्भावित डुबान र कटानको जोखिमबारे जानकारी लिइएको छ। जोखिम बढेमा स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नेसहित आवश्यक तयारीका लागि सम्बन्धित निकायलाई सक्रिय राखिएको प्रशासनले जनाएको छ।
यसैबिच, लालबकैया नदीको जलस्तर खतराको तह नजिक पुगेको छ। आइतबार बिहान ७ः२४ बजेको मापनअनुसार बाराको निजगढस्थित लालबकैया नदी मापन केन्द्रमा पानीको सतह २३८ सेन्टिमिटर पुगेको छ। उक्त स्थानमा १५० सेन्टिमिटरलाई चेतावनी तह र २५० सेन्टिमिटरलाई खतराको तह मानिन्छ।
मापनअनुसार नदीको जलस्तर चेतावनी तहभन्दा ८८ सेन्टिमिटर माथि पुगेको छ भने खतराको तहभन्दा १२ सेन्टिमिटर मात्र तल छ। नदीको बहाब अझै बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र होचा भूभागमा बसोवास गर्ने नागरिकमा बाढी तथा डुबानको जोखिम बढेको छ। धानबाली भित्र्याउने तयारीमा रहेका किसानको खेतमा पानी जम्दा धानबालीमा क्षति पुग्न थालेको छ। वर्षाका कारण जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीले धान, उखु र तरकारीलगायतका बालीमा समेत असर पुगेको स्थानीयले बताएका छन्।
पोखराबाट नागरिककर्मी सन्तोष पोखरेलका अनुसार बाढीले हिमाली जिल्लामा विपत् निम्त्याएको छ। हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा भौतिक नोक्सान गरेको छ।
त्यस्तै मनाङकै तालगाउँका घर पनि डुबानमा परेका छन्। गोखराको माथिल्लो भेगमा पनि पहिरो निम्त्याएको छ। अर्काे हिमाली जिल्ला मुस्ताङको माथिल्लो भेगमा हिमपात भएको छ। पुल बग्दा बेनी–जोमसोम सडक खण्ड पनि अवरुद्ध भएको छ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले मनाङको सदरमुकाम चामे पाँचवटा घर र एउटा चर्चमा क्षति पुर्याएको छ। तीमध्ये चारवटा घर पूर्णरूपमा क्षति भएका छन्। एउटा घर भने आंशिक क्षति मात्र भएको छ। ‘स्थानीय ठाडो खोलाले क्षति गरेको हो। मर्स्याङ्दी खोलाले क्षति गरेको होइन’, उनले भने। उनका अनुसार मर्स्याङ्दी किनारका १० वटा घर पनि डुबानमा परेका छन्।
उनका अनुसार सदरमुकाम चामेसँग माथिल्लो मनाङको सम्पर्क विच्छेद भएको छ। कोदो–चामे खण्डका चारवटा काठेपुल पनि बगाएको छ। पुल बगेपछि मनाङमा सडक सम्पर्क विच्छेद भएको छ। त्यसबाहेक विद्युत्का पोल ढलेपछि सदरमुकामा चामेमा विद्युत् आपूर्ति बन्द भएको छ।
विद्युत् आपूर्ति सुरु हुनका लागि सडक सञ्चालन हुनुपर्ने उनले बताए। ‘सडक खुलेपछि बल्ल विद्युत् सेवा सुरु गर्न सहज हुन्छ। विद्युत् सेवा सञ्चालन हुनका लागि कम्तीमा १५ दिन लाग्न सक्छ’, उनले भने। बाटोघाटोमा पहिरो झरेको र पुल पनि बगेपछि अहिले पदयात्राका लागि गएका पर्यटक पनि रोकिएको उनले बताए।
अर्काे जिल्ला गोरखाको माथिल्लो भेगमा पनि पहिरो झरेको स्थानीयले बताएका छन्। गोरखाको माथिल्लो क्षेत्र चुमनुब्री गाउँपालिका– १ सामागाउँमा पहिरो झर्दा स्थानीय जोखिममा परेका छन्।
मनास्लु क्षेत्रबाट झरेको पहिरोले स्थानीयलाई जोखिममा पारेको हो। पहिरोले पुलमा क्षति पुर्याएपछि बेनी–जोमसोम सडक खण्ड पनि अवरुद्ध भएको छ। मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार म्याग्दीका अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा रहेको कालिगण्डकी नदीमाथिको पक्कीपुलको एक छेउमा पूर्णरूपमा कटान भएको छ।
पुलको एकछेउ कटान भएपछि सडक पूर्णरूपमा विच्छेद भएको उनले बताए। ‘म्याग्दी खण्डको पुलका कारण बेनी–जोमसोम सडक खण्ड तत्काल सञ्चालनमा आउन सक्दैन’, उनले भने, ‘बेनी जोमसोम खण्डको सिरुबारी, तातोपानी, रूपसे, पोखरेबगरलगायतका स्थानमा पहिरो झरेको छ।’
साना आकारका केही पहिरो तत्काल हटाउन सकिने भए पनि कटान भएको पुलको क्षेत्र मर्मतका लागि भने समय लाग्ने भएकाले तत्कालै सडक सञ्चालनमा आउन सक्ने अवस्था नरहेको उनले बताए।
तत्काल सडक खुलाउन सक्ने अवस्था नरहेको पनि उनले बताए। मुस्ताङको माथिल्लो क्षेत्रमा हिमपात र तल्लो भेगमा पहिरो खसेकाले सडक पूर्णरूपमा अवरुद्ध रहेको उनले बताए। उनका अनुसार सडक अवरुद्ध भएपछि नेपालले पछिल्लो समय कोरला नाकाबाट भित्र्याउँदै आएको चिनियाँ सामान पनि कोरलामै रोकिएको छ। कोरलामा सामान लिन गएका नेपाली कन्टेनर अहिले नाका क्षेत्रमै रोकिएको उनले बताए। ‘माथिल्लो क्षेत्रमा हिमपात, तल्लो भेगमा पहिरोले गर्दा सकस थपेको छ’, उनले भने।
धनगढीबाट नागरिककर्मी दिलबहादुर छत्यालका अनुसार शुक्रबारदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढेपछि कञ्चनपुरको गड्डाचौकीबाट भारततर्फ ओहोरदोहोर गरिने शारदा ब्यारेज (बनबासा पुल) मा चारचक्के सवारीसाधनमा रोक लगाइएको छ।
महाकाली नदीमा पानीको बहाब बढी भएकाले आइतबार बिहानदेखि रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताए।
महाकाली नदीमा पानीको बहाब १ लाख ९७ हजार ७ सय ७४ क्युसेक पुगेकाले शारदा ब्यारेजमा माथि नेपाल–भारत ओहोरदोहोर गर्ने चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको उनले बताए।
महाकाली नदीमा पानीको सतह एक लाख क्युसेकभन्दा बढी भएमा चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइने गरेको उनको भनाइ छ। ‘एक लाख क्युसेक बढी पानी भएपछि सवारीसाधनमा चल्न रोक लगाइने गरिन्छ, पानीको सतह त्योभन्दा बढी भएकाले बन्द गरिएको हो’, उनले भने, ‘पानीको सतह एक लाख क्युसेकभन्दा कम भएपछि मात्र सवारीसाधनमा आवातजावत सुचारु गरिने छ।’
तीन दिन परेको अविरल वर्षाका कारण महाकालीमा नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जयकुमार शाहले बताएका छन्। महाकाली नदीमा पानीको सतह चेतावनीको तहनजिक पुगेको उनले बताए।
महाकाली नदीको परिगाउँ डडेल्धुरामा ६ मिटर ६८ सेन्टिमिटर पानीको सहत पुगेको मापन भएको उनले बताए। यसैगरी कञ्चनपुर चार लेन पुलछेउमा महाकाली नदीमा ५ मिटर ४४ सेन्टिमेटर पानीको सतह पुगेको उनले बताए।
सुदूरपश्चिममा शनिबार कञ्चनपुर, कैलाली र अछाममा १ सय ५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो भने अन्य जिल्लामा कम भएको शाहले बताए। आइतबार कैलाली कञ्चनपुरमा ७० मिलिमिटरभन्दा बढी वर्षा भएको उनले बताए।
बंगालको खाडीदेखि विकसित मौसमी प्रणाली कमजोर बन्दै गएकाले सुदूरपश्चिममा वर्षाको जोखिम हट्दै गएको शाहले बताएका छन्।
राती फाटफुट वर्षा भए पनि ठूलो वर्षाको सम्भावना भने टरेको उनको भनाइ छ। वर्षाले ठुलो धनजनको क्षति नगरेको प्रहरीले जनाएको छ। वर्षाको जोखिमलाई मध्यनजर गर्दै शुक्रबारदेखि नै सुदूरपश्चिमबाट काठमाडौं, पोखरा तथा पहाडी जिल्लामा चल्ने सवारीसाधन चलाउन रोक लगाइएको थियो।
प्रकाशित: १२ आश्विन २०८३ ०८:५९ सोमबार



-600x400.jpg)

