१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

हलेसी तुवाचुङको प्रशासनिक भवन निर्माण सुरु

हलेसी तुवाचुङ नगरपालिकाले प्रशासनिक नयाँ भवन निर्माण सुरु गरेको छ। यसका लागि सहरी विकास मन्त्रालय र नगरपालिकाको लागत साझेदारीमा रु पाँच करोड ८७ लाख १८ हजार १३० बजेट व्यवस्था गरिएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिए। वडा नं ५ दुर्छिमस्थित छापडाँडामा निर्माण गरिएको ट्रस भवनमार्फत सेवा प्रवाह गर्दै आएको थियो।  

निर्माण कम्पनीले प्रशासनिक भवन १८ महिनाभित्र सम्पन्न गर्नेगरी काम सुरु गरेको हो।  

स्थानीयले निःशुल्क उपलब्ध गराएको नगरपालिकाको आफ्नै जग्गामा निर्माण सुरु गरिएको प्रशासनिक भवन नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले शनिबार औपचारिक रूपमा शिलान्यास गरेका छन्। नगरप्रमुख राईले नगरपालिकाको प्रशासनिक भवन निर्माण योजनालाई नगरको दीर्घकालीन विकासतर्फको महत्त्वपूर्ण कदम मानिएको बताइन्।  

नगरपालिकाको प्रशासनिक कार्यालय भवन निर्माणका स्थानीयवासी पदमराज राई, भगशेर राई, मोहनबहादुर राई र डिकशेर राईले रु एक करोडभन्दा बढी मूल्य पर्ने १२ रोपनी निःशुल्क जग्गा दिएका हुन्।  

दश स्थानीय तह रहेको जिल्लामा यो (हलेसी तुवाचुङ नगरपालिका)सँगै सबै स्थानीय तहको आ-आफ्नै सुविधासम्पन्न प्रशासनिक भवन हुने भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहित जिल्लाका अन्य नौ स्थानीय तहले यसअघि नै सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याएका छन्। रासस

प्रकाशित: ७ मंसिर २०८२ ०९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App