२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

चन्दननाथ मन्दिरमा पुरातात्विक मापदण्डको धर्मशाला निर्माण

जुम्लाको चन्दननाथ मन्दिरमा निर्माणाधीन नमूना धर्मशाला। तस्बिर: गोल्डेन/नागरिक

जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरमा पुरातात्विक मापदण्डको धर्मशाला निर्माण गरिएको छ।

पर्यटन बोर्डको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त धर्मशालामा जुम्लाको स्थानीय ढुंगा प्रयोग गरिएको छ। नेपाल पर्यटन बोर्डद्वारा झ्याङछुप बडाबन जेभी निर्माण कम्पनी काभ्रेले काम गरिरहेको छ। 

मन्दिरको पछाडि सेराखेतको छेउमा भक्तजनहरूका लागि पुरातात्विक मापदण्ड अनुसारको ६ कोठे भवन निर्माण हुन लागेको हो। आधुनिक सिमेन्ट प्रयोग होइन, जुम्लाकै खानीको ढुंगा प्रयोग गरी उक्त धर्मशाला निर्माण भइरहेको छ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा निर्माण भइरहेको धर्मशाला आधुनिक तर मौलिक पुरातात्विक मापदण्ड अनुसारको हुने बताइएको छ। नेपाल पर्यटन बोर्डका सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार यादवका अनुसार यो धर्मशाला निर्माणका लागि एक करोड ६१ लख बजेटमा कम्पनीसँग सम्झौता भएको छ।

उनका अनुसार करिब ९४ लाखको बिल बुझाइएको मध्ये पेश्कीसहित २५ लाख रुपैयाँ भुक्तानी भएको छ। उनले अहिले माटोको संरचना बनाउँदा विपद्ले समस्या निम्त्याउने भएकाले ढुंगा प्रयोग गरेर काम भइरहेको बताए।कम्पनीका सञ्चालक सुभास लामाका अनुसार काम अन्तिम चरणमा पुगेको छ। करिब ९० प्रतिशत काम सकिएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार मन्दिरको छेउछाउमा बन्ने संरचना मौलिक र पुरातात्विक हुनुपर्ने भएकाले उक्त धारणा बनाइ नमूनाको रूपमा सो भवन निर्माण भइरहेको छ। भवन निर्माण क्षेत्रमा ढुंगा बिछ्याइने छ। जुम्लाको चन्दननाथ मन्दिर कर्णालीको ऐतिहासिक धरोहरको धार्मिक स्थल भए पनि अतिक्रमण बढेर जथाभावी संरचना निर्माण भइरहेको समयमा धर्मशाला पक्की र पुरातात्विक संरचनामा बन्नेछ।

दैनिक हजारौंको संख्यामा आन्तरिक तथा बाह्रय भक्तजनले चन्दननाथको दर्शन गर्छन्। बाहिरबाट आएका भक्तजन तथा पाहुना आउँदा पनि धर्मशाला नहुँदा मन्दिरलाई समस्या भइरहेको थियो। अब उक्त भवनमा सुविधाजनक तरिकाले १० देखि १२ जनासम्म बसाल्न सकिने छ।

बोर्डले जुम्लाको चन्दननाथ मन्दिरसहित हलेसी, चोत्राधाम, भोजपुर लगायतका विभिन्न जिल्लामा जिल्ला बाहिर धर्मशाला निर्माण गर्न सुरु गरिएको बताए। धर्मशाला बन्ने भएपछि जुम्लाका स्थानीय खुसी भएका छन्। चन्दननाथ भैरवनाथ मन्दिरका अध्यक्ष अमरबहादुर थापाका अनुसार धर्मशालाले महत्वपूर्ण पाहुना तथा भक्तजनलाई आवासीय सुविधा हुने छ।

प्रकाशित: २७ श्रावण २०८२ ११:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App