१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

‘समयसापेक्ष शिक्षा भित्र्याउन सम्मेलन’

सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसले पुस ५ र ६ गते अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलन गर्दै छ। कोसी र मधेस प्रदेशका पाँच हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्दै आएको इटहरीस्थित यस क्याम्पसले शैक्षिक सम्मेलनमार्फत यस क्षेत्रका प्राध्यापक र विद्यार्थीलाई अन्तर्राष्ट्रिय ज्ञान दिलाउने उद्देश्य राखेको छ। यसै सन्दर्भमा केन्द्रित रहेर क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीसँग नागरिककर्मी अमर खड्काले गरेको कुराकानीको सारसंक्षेप:

अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलन गर्दै हुनुहुन्छ, यसको उद्देश्य के हो?

नेपालका सामुदायिक कलेजमध्ये जनता बहुमुखी धेरै विद्यार्थी भएको कलेजभित्र पर्छ। कोसी प्रदेशको केन्द्रमा रहेको, सबैको पायक र रोजाइमा परेको, विभिन्न क्षेत्र र विषयका प्राध्यापक, एमफिल र पिएचडी उपाधि प्राप्त व्यक्तित्वबाट अध्ययन–अध्यापन गराइन्छ। यहाँ मानविकी, शिक्षा, व्यवस्थापन, विज्ञानलगायतका संकायमा पठनपाठन हुन्छ।

शैक्षिक विज्ञ र अनुसन्धानकर्ताबिच अन्तरसंवादबाट समयसापेक्ष शिक्षालाई परिवर्तन र परिस्कृत गरेर लैजान नवीन शैक्षिक नमुनाका लागि संरचनात्मक अध्ययन गर्नुपर्छ भन्ने सोचले यो कार्यक्रम गर्न लागिएको हो।

सम्मेलन किन आवश्यक छ?

अध्ययन–अध्यापन गर्ने जुन गतिविधि हुन्छ, त्यो समयसापेक्ष र परिस्कृत गर्दै लैजानुपर्छ। सम्मेलनमा विश्वका विज्ञ व्यक्तिका अनुसन्धान प्रस्तुत हुन्छ। त्यसले प्राध्यापकलाई नयाँ ज्ञान दिलाउँछ, विद्यार्थीलाई अनुसन्धानका नयाँ उपाय सिकाउँछ र अबको शिक्षा कुन हिसाबले अगाडि बढाउँदा प्रभावकारी हुन्छ भन्ने ध्येय राखेर विज्ञबिच अन्तरक्र्रिया गर्न यो सम्मेलन गर्न लागिएको हो।

सम्मेलनको आधार कसरी बन्यो त?

विदेशमा नाम चलेका कलेजहरू कसरी चलेका छन् र तिनको समग्र अवस्था कस्तो छ भन्ने बुझ्न भारतका दुईवटा विश्वविद्यालयलाई मेल पठाएका थियौं। त्यहाँबाट हामीलाई बोलाइयो।

असारमा पहिलोपटक भारतको हरियाणास्थित बाबा मस्तनाथ र राजस्थानस्थित जेजेटी विश्वविद्यालयसँग सम्झौता गर्‍यौं। सम्झौता गर्न जाँदा हामीले दुईपक्षीय सहमतिबाट शिक्षा क्षेत्रमा ठूलै उपलब्धि हासिल गर्न सकिने महसुस गर्‍यौं। यहाँका विद्यार्थीलाई रिसर्च गर्दा होस् वा प्राध्यापकलाई एमफिल र पिएचडी उपाधिका लागि सस्तो शुल्कमा मिलाउन सकिने वातावरण बन्यो। भारतका दुइवटा विश्वविद्यालयसँग सम्झौता गर्दा त यति धेरै सिक्ने अवसर पाउँछौं भने अन्तर्राष्ट्रिय सम्मेलन गर्दा त्यसबाट प्राप्त हुने उपलब्धि कति होला?

सम्मेलनमा ककसको सहभागिता रहने छ?

सम्मेलनमा पाँचवटा देशको उपस्थिति रहने छ। अमेरिकाबाट विज्ञ व्यक्तित्व रोर्जर आउने तय भएको छ। यस्तै, थाइल्यान्ड, बाङ्लादेश, इन्डियालगायतका देशबाट विज्ञ व्यक्ति आउने छन्। नेपालबाट नाम चलेका विभिन्न शिक्षा क्षेत्रका विज्ञ व्यक्तिको उपस्थिति रहनेछ। सम्मेलनमा पाँच सयको सहभागिता रहने छ।

सम्मेलनको तयारी कुन चरणमा पुग्यो?

खानपान, बसोबास, कार्यक्रम तालिका, प्रचार–प्रसार, आर्थिक लगायतका सबै समितिले आआफ्नो काम पूरा गरेका छन्। पुस ५ र ६ को कार्यक्रमका लागि सिंगो क्याम्पसको सरसफाइ गरिने छ।  सचिवालयले कार्यक्रमको सम्पूर्ण खाका तयार गरिसकेको छ।

खर्चको व्यवस्थापन कसरी हुन्छ?

सञ्चालक समितिले सम्मेलन योजना बनाउँदा क्याम्पसबाट १८ लाख रुपैयाँ रकम छुट्याइएको थियो तर यतिबेला क्याम्पस आर्थिक हिसाबले सक्षम नभएको अनि अध्ययन गर्न आउने विद्यार्थीसँग पनि न्यून शुल्क मात्र लिएकाले त्यो १८ लाख पनि जोगाएर जानुपर्छ कि भनेर कार्यक्रम अघि बढाइरहेका छौं। यसक्रममा सहभागीबाट रजिस्ट्रेसन शुल्कबापत प्रतिव्यक्ति दुई हजार पाँच सय लिने निर्णय गरेका छौं।

यस्तै, इटहरी उपमहानगरपालिकाले सात लाख रुपैयाँ दिने भएको छ। यो कार्यक्रमको अभिभावकत्व पनि उपमहानगरपालिकाले लिनेछ। सुनसरीमा रहेका अन्य स्थानीय तहमध्ये धेरैजसोले कसैले एक लाख, कसैले डेढ लाख र कसैले ७५ हजार रुपैयाँ दिने प्रतिबद्धता जनाएका छन्।

यस्तै, इटहरीका वडाका धेरैजसो वडाध्यक्षले इटहरीमा हुने कार्यक्रममा हाम्रो पनि केही न केही सहयोग हुनुपर्छ भन्ने सोच राखेर रकम दिने क्रम चलिरहेको छ। कार्यक्रमका लागि झन्डै ३५ लाख हाराहारी खर्च हुने अनुमान छ।

सम्मेलनबाट समग्र रूपमा इटहरीले के लाभ पाउँछ?

इटहरी सभ्य सहरका रूपमा विकास भइरहेको छ। कुनै पनि सहरको विकासको आधार शिक्षा र स्वास्थ्य नै हो। यो जनता क्याम्पस २०४५ सालमा खुलेको हो। यहाँ थुप्रै निजी कलेज खुलेका छन्। ती कलेजमा कार्यरतको संख्या पनि ठूलै छ, तर पनि यो क्याम्पस इटहरीका उच्च शिक्षालयहरूको अभिभावकका रूपमा रहेको बुझिन्छ। अर्को कुरा यस कार्यक्रमले इटहरी उपमहानगरपालिकालाई शिक्षाको ‘हब’ हो भनेर चिनाउन मद्दत गर्नेछ।

तपाईंको अध्यक्षतामा पहिलोपटक सम्मेलन हुँदै छ। तपाईंको कार्यकाल एक वर्ष बाँकी छ। अब केके गर्ने योजना छन् त?

म यही क्याम्पसको विद्यार्थी हुँ। यही क्याम्पसले मलाई चिनाएको हो। क्याम्पस स्तरीय बनाउनुपर्छ। यही क्रममा दुई वर्षभित्र धेरै परिवर्तन भइसकेका छन्। थोरै शुल्कमा विद्यार्थीलाई बसबाट क्याम्पस आउने वातावरण तय गरेका छौं। सरसफाइमा ध्यान दिएका छौं। प्राध्यापक तथा कर्मचारीलाई अनुशासन राखेका छौं।

पछिल्लो समय बिआइसिटीमा क्षमताभन्दा बढी विद्यार्थी आउँदा फर्काउनुपर्‍यो। विद्यार्थीलाई बसाइमा सहज होस् भन्नका लागि छात्रबास निर्माण गरेका छौं। क्याम्पसलाई कम्पाउन्डवाल गरिरहेका छौं। नयाँ विषय बिबिए र बिएचएमको माग आएको छ। चाँडै ई–लाइब्रेरी सञ्चालन गर्ने योजना छ। एउटा सभाहल बनाउने योजना छ। यसले सस्तो र सुलभ ढंगले विद्यार्थीलाई उच्च शिक्षा दिलाउन अनुकूल वातावरण बन्ने छ।

प्रकाशित: १ पुस २०८२ ०८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App