नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको सोमबार सम्पन्न १२औँ साधारणसभामा सहभागी ताप्लेजुङ जिल्लाका स्थानीय तहका प्रमुखहरूले स्थानीय विज्ञापनमा स्थानीय सञ्चार माध्यमकै पहिलो अधिकार हुने बताएका छन्।
उनीहरूले विगतझैँ स्थानीय सञ्चार माध्यमलाई लोककल्याणकारी सन्देश तथा सूचना उपलब्ध गराइरहने प्रतिबद्धता समेत जनाएका छन्।
कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरूले संघीय सरकारले सरकारी विज्ञापन निजी सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गर्न नपाउने तथा सरकारी सञ्चार माध्यममै अनिवार्य रूपमा प्रकाशन–प्रसारण गर्नुपर्ने गरी जारी गरेको परिपत्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा रहेको दाबी गरे।
उनीहरूले स्थानीय सञ्चार माध्यमको संरक्षण गर्नु स्थानीय सरकारको समेत दायित्व भएकोमा जोड दिए।
फुङलिङ नगरपालिका का नगरप्रमुख अमिर मादेनले स्थानीय सञ्चार माध्यमलाई सूचना तथा सन्देश प्रवाहका लागि विगतमा दिँदै आएको सुविधा निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे। उनले पत्रकारहरूले दलगत प्रभावभन्दा माथि उठेर स्वतन्त्र पत्रकारिताको अभ्यास गर्नुपर्ने बताए।
“खोजी पत्रकारितामा अझ बढी ध्यान दिनुपर्छ,” उनले सञ्चारकर्मीलाई आग्रह गर्दै भने।
त्यस्तै मैवाखोला गाउँपालिकाका अध्यक्ष वनेमले संघीय सरकार संघीयताको मर्म र भावना विपरीत चलेको आरोप लगाए। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउँदा लोकतन्त्र नै कमजोर हुने उनको भनाइ थियो।
उनले स्थानीय सञ्चार माध्यमको संस्थागत विकासका लागि स्थानीय तहले गर्दै आएको सहयोग निरन्तर रहने स्पष्ट पारे।
“संघीयताको मर्मलाई एक संघीय मन्त्री र एक सचिवको तोक आदेशका भरमा कमजोर बनाउने प्रयास गलत दुस्साहस हो,” उनले भने, “वित्तीय, प्रशासनिक र राजनीतिक अधिकार स्थानीय तहसम्म हस्तान्तरण नगरेसम्म संघीयता बलियो बन्न सक्दैन।”
यसैगरी आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन)ले संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारका आधारमा स्थानीय सरकार सञ्चालन हुने भएकाले स्थानीय तहलाई कसैले रोक्न नसक्ने बताए।
“हामी स्थानीय सञ्चार माध्यम बचाउने र जोगाउने पक्षमा छौँ। स्थानीय सञ्चार माध्यमलाई दिँदै आएको सुविधा कटौती हुँदैन, निरन्तर रहन्छ,” उनले आफ्नी पालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङलाई सम्बोधन गर्दै भने।
पोमूले स्थानीय सरकारको बजेट उपप्रमुख वा उपाध्यक्षले सभामा प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था रहेको पनि स्मरण गराए।
उनले बेरुजुलाई सोझै भ्रष्टाचारसँग जोडेर हेर्ने प्रवृत्ति गलत भएको उल्लेख गर्दै बेरुजु भनेको रुजु हुन बाँकी रकमका रूपमा बुझ्न सञ्चारकर्मीलाई आग्रह गरे।
कार्यक्रमका अवसरमा नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले जिल्लाका ९ वटै स्थानीय तह तथा विभिन्न सामाजिक संस्थालाई विकासमा योगदान पुर्याएको भन्दै कदरपत्र प्रदान गरेको महासंघका अध्यक्ष सुवास आचार्यले जानकारी दिए।
प्रकाशित: ११ जेष्ठ २०८३ १९:४२ सोमबार





-600x400.jpg)