२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

अनशनरतको जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको महेन्द्रनगर, मदनचोकमा आमरण अनशनमा रहेका आरक्षपीडितको न्याय र जीवन रक्षाका लागि आग्रह गरेको छ।

आयोगका सहसचिव डा. टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी आमरण अनशनरत सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकाया र रणबहादुर बमको जीवन रक्षा गर्न माग गरेको हो। ‘स्वास्थ्य अवस्थालाई ध्यानमा राखी निजहरूको मागका सम्बन्धमा यथाशीघ्र वार्ता गरी सहमतिको माध्यमबाट अनशनरत व्यक्तिको जीवन रक्षा गर्न आयोग तीनै तहका सरकारलाई आग्रह गर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै आमरण अनशनलाई स्थगित गरी आफ्ना माग र अधिकारका सम्बन्धमा वार्ता, छलफल र कानुनी बाटो अवलम्बन गर्न अनशनरत पक्षलाई पनि आयोग आग्रह गर्छ।’

आरक्षपीडितलाई क्षतिपूर्तिको व्यवस्था, ढक्का र तारापुरलगायत क्षेत्रका जनताको बसोबासको व्यवस्था, आरक्षपीडितलाई द्वन्द्वपीडित घोषणा, निःशुल्क स्वास्थ्य र शिक्षालगायत माग राख्दै २०८२ साउन २२ गतेदेखि रोकाया र बम आमरण अनशनमा छन्।

यस विषयमा आयोगमा ज्ञापनपत्र प्राप्त भएको र महेन्द्रनगरका साथै कञ्चनपुरकै वाणी र लालझाडीको ढक्का शिविरमा भइरहेका रिले अनशनको आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीबाट अनुगमन भएको जनाइएको छ।

आमरण अनशनरत व्यक्ति ज्येष्ठ नागरिक रहेको र अनशन लम्बिँदै जाँदा निजहरूको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको अनुगमनबाट पाइएको आयोगले जनाएको छ। रासस

प्रकाशित: ३० श्रावण २०८२ १५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App