जाडो बढ्दै गएपछि जिल्लाको जनजीवन बिस्तारै प्रभावित हुँदै गएको छ। पुस महिना सुरु भएयता निरन्तर जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो। बादल लागेको र चिसो सिरेटोले जाडो झनै बढाएको छ।
पुस महिनामा अहिलेसम्म एक दिन मात्र घाम लागेको छ। बादल लागेको र चिसो हावाले निरन्तर चिसो बढ्दै गएको छ। जाडो बढेपछि बजार र सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप घटेको छ। जाडो बढेपछि बालबालिका, वृद्धवृद्धा, बिरामी र मजदुरहरू प्रभावित भएका छन्। झरीसँगै जाडो बढेपछि सर्वसाधारणहरू घरभित्रै बसेर आगो ताप्ने गरेका छन्।
बाटोमा मानिसहरू कम देखिएका छन्। सधैँ व्यस्त रहने सडकमा मान्छेको चाप कम भएको छ। भीडभाड रहने प्रशासन, मालपोत, नापी कार्यालयमा बिस्तारै सेवाग्राहीको संख्या घट्दै गएको छ। चिसोले सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धाहरूलाई प्रभावित गरेको छ। चिसो बढेपछि जिल्लाका सरकारी र निजी स्वास्थ्य अस्पताल र संस्थामा बिरामीहरूको चाप समेत बढ्दै गएको छ।
कपिलवस्तु अस्पताल आकस्मिक कक्षमा अस्पतालमा झाडापखाला, ज्वरो, निमोनिया, रुघाखोकी लगायत रोगका बिरामीहरूको संख्या बढेको मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर किशोर बञ्जाडेले बताए। ‘बालबालिका र वृद्धवृद्धाहरू उपचारका लागि आउने गरेका छन्।’ उनले भने।
उता जाडो बढेपछि कपिलवस्तुका धेरैजसो विद्यालय पुस १८ सम्मका लागि बन्द गरिएको छ। सबैभन्दा बढी गरीब, विपन्न तथा मजदुरी गरी दैनिक गुजारा चलाउँदै आएका परिवारहरू जाडो खप्न बाध्य छन्। ससाना लुगा लगाएर दैनिक ज्यालादारीबाट जीवन व्यतीत गरिरहेका कपिलवस्तु नगरपालिका–१२ डेरवाका बर्साती लोनियाले जाडोले गर्दा काम गर्न निकै गाह्रो परेको दुखेसो पोखे।
‘काम नगरे मुखमा माड लाग्दैन, जाडोमा काम पनि पाइँदैन,’ दैनिक ७ सय रुपैयाँ ज्यालादारीमा पाएर ७ जनाको परिवारका घरमुली बर्सातीले भने ‘कसैले पनि हामी गरीबलाई सहयोग गर्दैन।’
प्रकाशित: १६ पुस २०८२ १३:३३ बुधबार





