विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ विराजमान पवित्र पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप सफाइ गरिएको छ।
वाग्मती सफाइ महाअभियानको ६६५ औं हप्तामा महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रको सूर्यघाट, आर्यघाट, राममन्दिर क्षेत्रमा सफाइ गरिएको हो।
सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। सफाइबाट उठेको नकुहिने फोहर काठमाडौं महानगरपालिकाको गाडीबाट व्यवस्थापन गरिएको उनले बताए।
भष्मेश्वरघाटबाट ड्यामसम्मको वाग्मती किनारमा बढी फोहर देखिएकाले अधिकार सम्पन्न वाग्मती समितिले नै डोजर लगाएर सफाइ गर्ने सहमति भएको छ।
आजको सफाइमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख मचाकाजी महर्जनलगायत अभियानकर्मीको सक्रिय सहभागिता रहेको थियो।
अर्को हप्ता शनिबार पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतको सहभागितामा पशुपति क्षेत्रमै सफाइ गरिने छ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार निरन्तर चलिरहेको छ। भूकम्प, नाकाबन्दी, कोरोनाजस्ता प्रतिकूल अवस्थामा पनि वाग्मती सफाइ महाअभियान रोकिएन।
चाडपर्व, जाडो, झरीजस्ता समयमा पनि प्रत्येक हप्ता शनिबार बिहान अभियानकर्मी वाग्मती नदीमा जम्मा भएर सफाइ गर्ने गरेका छन्। देशका लागि हप्तामा दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ अभियानकर्मीहरु वाग्मती नदी किनारमा प्रत्येक हप्ता जम्मा भएर सफाइ गर्ने गरेका छन्।
प्रकाशित: २४ माघ २०८२ १६:५१ शनिबार





