वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, वित्तीय अनुशासन, सामाजिक जवाफदेहिता तथा आगामी कार्यदिशाबारे समीक्षा गर्दै बुधबार साधारणसभा सम्पन्न भएको हो। साधारणसभामा संस्थाका सदस्य, स्थानीय तहका प्रतिनिधि, सरकारी विद्यालय, विकास साझेदार तथा सहयोगी निकाय, निजी क्षेत्र, साझेदार संस्था र कर्मचारीसहित करिब ४० जनाको सहभागिता थियो।
अध्यक्ष अमोद कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसचिव सुरेश विश्वकर्माले स्वागत मन्तव्य तथा सचिव प्रार्थना न्यौपानेले सहजीकरण गरेका थिए।
साधारणसभामा आर्थिक वर्ष २०८२/८३ मा संस्थाले सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिको समीक्षा गरिएको थियो। कार्यक्रममा संस्थाको प्रगति, उपलब्धि, वित्तीय अवस्था, कार्यान्वयनका क्रममा देखिएका चुनौती, सिकाइ तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे छलफल भएको जनाइएको छ।
कोषाध्यक्ष सिमरन शेरचनले आर्थिक प्रतिवेदन, सुजन एस. एन्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट सुजन सुवेदीले वित्तीय लेखापरीक्षण प्रतिवेदन तथा कार्यकारी निर्देशक रविन्द्र लामिछानेले संस्थाको समग्र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका गतिविधि, सामाजिक प्रभाव तथा सरोकारवालाप्रतिको जवाफदेहिताबारे जानकारी गराएका थिए।
साधारणसभामा संस्थाको कार्यसम्पादन, पारदर्शिता, वित्तीय अनुशासन तथा सामाजिक उत्तरदायित्वका विषयमा सदस्य तथा सरोकारवालाबीच छलफलसमेत भएको थियो। संस्थाले पारदर्शी, उत्तरदायी र प्रभावकारी संस्थागत अभ्यासलाई आगामी दिनमा थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघकी महासचिव देवी खड्का, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) की इन्टरभेसन मेनेजर एरिका उदास, ललितपुर महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्य, युवा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष नारायण गिरी तथा सिआइएनका पत्रकार लिलप्रकाश चन्दले शुभकामना तथा मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा क्लिन अप नेपालले गर्दै आएको कामको प्रशंसा गर्दै आगामी दिनमा स्थानीय सरकार, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।
साधारणसभाका अवसरमा संस्थाका कार्यक्रम तथा गतिविधिमा निरन्तर सहयोग र सहकार्य गर्दै आएका विशिष्ट अतिथिहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।
क्लिन अप नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले वातावरणीय संरक्षण, दिगो फोहोरमैला व्यवस्थापन र उत्थानशील समुदाय निर्माणका लागि स्थानीय सरकार, सरकारी तथा गैरसरकारी संस्था, विकास साझेदार, निजी क्षेत्र, समुदाय, स्वयंसेवक तथा नागरिक समाजसँगको सहकार्यलाई आगामी दिनमा थप विस्तार गरिने बताए।
साधारणसभाको समापनमा संस्थाले निरन्तर विश्वास, सहयोग र सहकार्य गर्ने सदस्य, सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदार, निजी क्षेत्र, समुदाय, स्वयंसेवक तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ। संस्थाले स्वच्छ, स्वस्थ तथा उत्थानशील समुदाय निर्माणका लागि पारदर्शिता, जवाफदेहिता र सहकार्यमा आधारित अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
प्रकाशित: १८ भाद्र २०८३ ०८:५९ बिहीबार





