५ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

जग्गा नापजाँचपछि झडप, निजी हुन नदिने स्थानीयको घोषणा

भक्तपुरको चाँगुनारायण नगरपालिका–१, नैनडाँडा, सरस्वतीखेल–दुवाकोटस्थित व्यक्तिको नाममा रहेको भनिएको करिब १६ रोपनी जग्गा नापजाँच गर्न पुगेका जग्गाधनी पक्ष र स्थानीयबीच शुक्रबार झडप भएको छ। सयौँको संख्यामा रहेका स्थानीयले दर्जनौँको संख्यामा रहेका जग्गाधनी पक्षका मानिसलाई लखेटेर पठाएका थिए।

झडपपछि सुरक्षाका लागि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिए पनि स्थानीयले जग्गाधनी पक्षका केही मानिसलाई कुटपिट गरेका थिए। कुटपिटबाट उनीहरू सामान्य घाइते भएका थिए।

जग्गा नापजाँचका लागि कर्मचारी तथा जग्गाधनी पक्ष फिल्डमा आउने खबर पाएपछि बिहानैदेखि सयौँ स्थानीयवासी नैनडाँडामा भेला भएका थिए। कार्यालय समयपछि जग्गा नापजाँचका लागि टोली पुगेपछि नापजाँच सुरु भएको थियो। नापजाँच सुरु भएसँगै स्थानीयले विरोध जनाएका थिए र विवाद बढ्दै गएपछि झडप भएको थियो।

सयौँ वडावासी हातमा प्लेकार्ड बोकेर बिहानै घटनास्थल पुगेका थिए। ‘सार्वजनिक जग्गा निजी हुन दिन्नौँ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर स्थानीयले विरोध जनाएका थिए। जग्गा नापजाँच सुरु भएपछि नाराबाजी चर्किएको र अवस्था असामान्य हुँदै झडपमा परिणत भएको स्थानीयले बताएका छन्।

स्थिति तनावपूर्ण बनेपछि प्रहरीले सुरक्षाका लागि थप जनशक्ति परिचालन गरेको थियो। प्रहरीले जग्गाधनी पक्षका मानिसलाई उद्धार गरी प्रहरीको भ्यानमा राखेर घटनास्थलबाट सुरक्षित स्थानमा लगेको थियो।

जग्गा नापजाँचको खबर पाएपछि जग्गा रहेको चाँगुनारायण नगरपालिका–१ दुवाकोटका वडाध्यक्ष सिजन कार्कीलगायत जनप्रतिनिधि तथा अभियन्ता पनि घटनास्थलमा पुगेका थिए। खबर फैलिएपछि सयौँ वडावासी जम्मा भएका थिए। नापजाँच सुरु भएपछि विवाद थप चर्किएको थियो।

स्थानीयका अनुसार निजी भनिएको उक्त जग्गा अहिले सार्वजनिक प्रयोजनमा प्रयोग हुँदै आएको छ। लामो समयदेखि सार्वजनिक प्रयोजनमा रहेको भनिएको उक्त जग्गामा स्थानीयको दैनिक जीवनसँग जोडिएका पानी ट्यांकी, कालभैरव मन्दिर, सार्वजनिक बस बिसौनी तथा खानेपानी संस्थानको कार्यालयलगायतका संरचना रहेका छन्।

झडपपछि पनि स्थानीय दिनभर घटनास्थलमा पहरा दिएर बसेका थिए। यस क्रममा जनसभा पनि आयोजना गरिएको थियो। जनसभामा चाँगुनारायण नगरपालिका–१ का वडाध्यक्ष सिजन कार्कीले परापूर्वकालदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको जग्गा निजी हुन नदिने घोषणा गरे। त्यसका लागि अन्तिम हदसम्म पनि संघर्ष जारी राख्ने उनले बताए।

करिब २० वर्षदेखि जग्गा संरक्षणको अभियानमा संलग्न रहेको बताउने स्थानीय श्याम अवालले दशकौँदेखि उक्त जग्गा सार्वजनिक प्रयोजनमा प्रयोग हुँदै आएको बताए। हालसम्म कसैले पनि निजी प्रयोजनका लागि जग्गा भोगचलन गर्न नआएको उनले जानकारी दिए।

जग्गा संरक्षणका लागि स्थानीयले नैनडाँडा जग्गा संरक्षण समिति गठन गरी लामो समयदेखि संघर्ष गर्दै आएका छन्। समितिका अध्यक्ष गौरीमानसिंह थापाले आफू गाउँ विकास समितिको अध्यक्ष हुँदादेखि नै उक्त जग्गा सार्वजनिक प्रयोजनमा रहेको जानकारी दिए।

२०४२ सालतिर आफू गाउँ विकास समितिको उपाध्यक्ष तथा तत्कालीन जिल्ला विकास समिति भक्तपुरको उपाध्यक्ष हुँदादेखि नै उक्त जग्गा सार्वजनिक कायम हुनुपर्ने माग गर्दै निरन्तर संघर्ष गर्दै आएको उनले बताए।

साबिक दुवाकोट गाविस–८(ख), हाल चाँगुनारायण नगरपालिका–१ स्थित करिब १६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको दाबी गर्दै त्यसको दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न स्थानीय निरन्तर आन्दोलनरत रहेको समितिका अध्यक्ष थापाले बताए।

प्रकाशित: ५ भाद्र २०८३ २२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App