प्रहरी प्रभाग नगरकोटको नयाँ बनाइएको भवन सञ्चालनमा आएको छ। मंगलबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले सो भवनको उद्घाटन गरेका हुन्। साथै उनले उक्त नयाँ बनाइएको भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण गरेका थिए।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङले नयाँ बनाइएको भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरीप्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीक पनि भएको उल्लेख गरे।
नयाँ बनाइएको भवनले उच्च मनोबल र परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा दिइने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिकबिचको सम्बन्धलाई अझ सुमधुर र बलियो बनाउने उनको विश्वास छ।
प्रहरी महानिरीक्षक खापुङले कानुन कार्यान्वयन र समाजमा हुने हरेक विपत्ति, दुर्घटना र असामान्य परिस्थितिमा अग्रपंक्तिमा रही सेवा प्रवाह गर्दै आएको नेपाल प्रहरीप्रति नागरिकहरूको ठुलो आस्था र भरोसा रहेको चर्चा गर्दै सो भरोसालाई जीवन्त राख्न विगतका कमी कमजोरीको विश्लेषण गरेर शिष्ट आचरण र व्यवहारका साथ उत्कृष्ट कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।
सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरे पनि सहभागी भएका थिए।
सरकारको नियमित बजेटबाट कुल रु चार करोड ४६ लाख १८ हजार एक सय ९७ को लागतमा उक्त भवन निर्माण सम्पन्न भएको छ। रासस
प्रकाशित: १२ कार्तिक २०८२ ०७:०६ बुधबार





