२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

चुली बृहत् खानेपानी आयोजना ६ वर्षदेखि अलपत्र

चुलीमालिका बृहत् खानेपानी आयोजना ६ वर्षदेखि अलपत्र परेको छ। खानेपानी निर्माण कार्य अलपत्र पर्दा कालीकोटको खाँडाचक्र नगरपालिका स्थानीय खानेपानीको चरम मारमा परेका छन्।

स्वच्छ खानेपानी पाउने आशामा निर्माणाधीन आयोजना हेरेर बसेको लामो समय भइसक्दा पनि पानी नपाएको स्थानीय रामबहादुर बोगटीले गुनासो पोखे। खानेपानीको काममा ढिलासुस्ती हुँदा निकै दुःख भोग्नुपरेको उनको भनाइ छ।

चुली मालिका बृहत् खानेपानी आयोजना निर्माण कार्य नै अलपत्र परेपछि स्थानीयमा खानेपानी समस्या ज्युँका त्युँ बनेको खाँडचक्र नगरपालिकाकी सुनपुरा शाहीले बताइन्। ‘कहिलेकाहीँ पानीको निहुँमा समाजमा झगडा हुन्छ। उनले भनिन्, ‘धारामा पानी आए आनन्द हुन्थ्यो। कसैसँग झगडा गर्नु पर्दैनथ्यो।’

‘एक घर, एक धारा’ अभियानअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाले २०७७ माघ ७ मा १५ करोड ६१ लाख ४८ हजारमा सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७९ माघ १० भित्र कार्य सम्पन्न गर्नुपर्ने थियो, तर अहिलेसम्म कामले गति लिएको छैन। आयोजनाअन्तर्गत संरचना निर्माण दुई वर्षअघि सम्पन्न भइसके पनि हालसम्म धारामा पानी भने नआएको खाँडाचक्र नगरपालिका– ३ मनराज पाण्डेले  बताए। 

उनले भने, ‘हरेक वर्षको सुक्खायाममा खानेपानी हाहाकार मच्चिने गरेको छ। घर आँगनमा पाइप जोडेको दुई वर्ष भइसक्यो तर पानी छैन।’ उनले खानेपानी आयोजनाको काम गरेको पैसासमेत भुक्तानी नगरेर ठेकेदार कम्पनी ऋषि शक्ति/पराजुली कन्स्ट्रक्सन जेभी लमजुङ सम्पर्कविहीन रहेको उनको भनाइ छ। आयोजनाको मुख्य पाइप लाइनको लम्बाइ साढे १० किलोमिटरभन्दा बढी रहेको छ। 

संघीय खानेपानी तथा ढल व्यवस्थापन सुर्खेतका आयोजना प्रमुख मनोजराज दैवज्ञले बजेट अभावमा चुलिमालिका बृहत् खानेपानी आयोजना सम्पन्न हुन नसकेको बताए। यो संघीय सरकारको योजना हो। उनले भने, ‘बर्सेनि थोरै थोरै मात्र बजेट आउँदा काम ढिलाइ भएको हो।’ उनले भने, ‘चुलिमालिका बृहत् खानेपानीको भौतिक प्रगति ७५ प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत रहेको बताए। खानेपानी ट्यांकी, पाइप लाइनलगायत संरचना निर्माण भएर पनि आयोजना अलपत्र अवस्थामा छ।’ 

स्थानीय लालबहादुर मल्लले भने, ‘यो आयोजना पहिल्यै सम्पन्न भइसक्नुपर्ने थियो। चुली खानेपानीको हकमा सरोकारवालासमेत मौन देखिएको उनको भनाइ छ। खानेपानीको चरम अभाव भोगिरहेको सदरमुकाम मान्म बजारमा हुँदै खानेपानीका लागि सुख्खा रहेका वडा नं १ देखि ४ सम्मका जनताले अहिले पनि खानेपानी सहज पहुँच पाउन सकेका छैनन्। निर्माण कम्पनी ऋषि शक्ति/पराजुली कन्स्ट्रक्सन जेभीका साइट सुपरभाइजर मानबहादुर थापा र दीपक थापासमेत सम्पर्कविहीन छन्। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अहिले सुर्खेतमा सारिएको छ।

प्रकाशित: २४ चैत्र २०८२ ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App