मोरङको हाटीबुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ नामक किताब नियतवश नजलाइएको जनाएको छ।
विश्वविद्यालयका वरिष्ठ अधिकारी सुजन भट्टराईका अनुसार पुराना कागजपत्र र काम नलागेका पुस्तकहरू व्यवस्थापन गर्ने क्रममा उक्त पुस्तक पनि परेको हुन सक्ने बताएका छन्।
भट्टराईका अनुसार पुराना र काम नलाग्ने किताबहरू व्यवस्थापन गर्ने क्रममा केही पुस्तकहरू फोहोरसँगै जलेका हुन सक्ने भए पनि चिनियाँ राष्ट्रपतिको किताब जलाउने कुनै उद्देश्य विश्वविद्यालयको नभएको स्पष्ट पारे।
उनले विश्वविद्यालयले पुराना कागजपत्र तथा काम नलागेका पुस्तकहरू हटाउने निर्णय गरेको बताए। भट्टराईले नेपालको कूटनीतिमा असर पार्ने कुनै नियत विश्वविद्यालयको नभएको पनि उल्लेख गरे।
“मित्र राष्ट्रहरूसँगको सम्बन्ध सन्तुलित राख्न चाहन्छौं र देशले अपनाएको परराष्ट्र नीतिप्रति हामी प्रतिबद्ध छौं,” उनले भने, “अहिले बाहिर आएको जस्तो हाम्रो कुनै नियत छैन। हामी त्यसरी सोच्न पनि सक्दैनौं।”
उनले बाहिर आएका हल्ला जस्तो कुनै व्यक्ति वा पक्षप्रति विश्वविद्यालयको पूर्वाग्रह नभएको पनि स्पष्ट पारे।
यसैबीच मंगलबार गृह मन्त्रालयले किताब जलाइएको घटनाबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय मोरङ र प्रहरीलाई निर्देशन दिएको थियो।
प्रकाशित: ३ चैत्र २०८२ २०:२३ मंगलबार





