११ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

भोटेकोशी बाढीबारे पूर्वसूचना नदिएको आरोप चीनद्वारा खण्डन : सहकार्य बढाउनुपर्नेमा जोड

नेपाल-चीन सीमास्थित भोटेकोशीमा आएको बाढी तथा पहिरोबारे चीनले बेलैमा पूर्वसूचना नदिएको भन्ने आरोपलाई चिनियाँ पक्षले खण्डन गरेको छ।

नेपालस्थित चिनियाँ दूतावासले उक्त आरोप भ्रामक र असत्य भएको बताएको हो। दूतावासले सार्वजनिक गरेको स्पष्टीकरणमा चीनले नेपाललाई प्रारम्भिक चेतावनी नदिँदा ठुलो क्षति भएको र चिनियाँ भूभागमा रहेको भौगर्भिक प्रकोपका कारण बाँध भत्किएर नेपालतर्फ क्षति भएको भन्ने दुवै आरोपलाई ‘फेक न्युज’ भनिएको छ।

दूतावासका अनुसार बुधबार बिहान नेपाली भूभागमा भूकम्प वा भूकम्पजस्तो घटनापछि उक्त विपद् आएको थियो। त्यसबाट ग्यारोङ-रसुवागढी सीमा क्षेत्रको नेपाल र चीन दुवैतर्फ ठुलो क्षति भएको र मानिसहरू बेपत्ता भएको दूतावासले जनाएको छ।

यसबिच नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चीन प्राकृतिक विपदबाट दुःखी भएको र नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। उनका अनुसार विपद्पछि चिनियाँ दूतावासले आपत्कालीन संयन्त्र सक्रिय पार्दै प्रभावित क्षेत्रमा रहेका चिनियाँ नागरिक तथा व्यवसायको अवस्थाबारे जानकारी लिएको थियो। दूतावासले उद्धारका लागि कार्य टोली पठाएको र नेपाललाई आपत्कालीन सामग्री तथा नगद सहयोग उपलब्ध गराउन समन्वय थालेको उनले बताएका छन्।

सरकारी टेलिभिजन एनटिभी वर्ल्डसँग कुरा गर्दै उनले भविष्यमा यस्ता विपद्को असर कम गर्न नेपाल र चीनले मौसम विज्ञान, जलविज्ञान र भौगर्भिक विपद्सम्बन्धी सूचना आदानप्रदान तथा पूर्वसूचना प्रणालीलाई बलियो बनाउनुपर्नेमा राजदूत झाङले जोड दिए। उनले आपत्कालीन उद्धार, कर्मचारी तालिम, प्राविधिक आदानप्रदान र आपत्कालीन सामग्री व्यवस्थापनमा पनि सहकार्य बढाउनुपर्ने बताए।

प्रकाशित: ११ भाद्र २०८३ ११:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App