प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आइतबार बंगलादेशका प्रधानन्यायाधीश सैयद रेफात अहमदसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। ढाकास्थित नेपाली राजदूतावासले दुवै देशका न्यायपालिकाबिच सहकार्य मजबुत बनाउनेबारे कुरा भएको जानकारी दिएको छ।
भेटमा नेपाल र बंगलादेशको कानुनी तथा न्यायिक अभ्यासका साझा पक्षमा छलफल भएको थियो। भेट जनतालाई छिटो न्यायिक सेवा दिने र सुधार प्रयासमा केन्द्रित थियो। सो अवसरमा न्यायाधीश सपना प्रधान, विनोद शर्मा, बिमल पौडेल र घनश्याम भण्डारी पनि सहभागी थिए। बंगलादेशबाट सर्वोच्च अदालतका पुनरावेदन डिभिजनका सबै न्यायाधीश उपस्थित थिए।
बैठकपछि राउतले अहमदसँग मिलेर पुनरावेदन महाशाखामा सुनुवाइको सह–अध्यक्षता गरेका थिए। अहमदले दुवै देशका न्यायपालिकाबिच बलियो सम्बन्धमा जोड दिए भने राउतले सुनुवाइ अवलोकनको प्रशंसा गर्दै द्विपक्षीय सम्बन्ध उजागर गरे।

दिउँसो नेपाली टोलीले ‘रोडम्याप, रोडशो विधायी परिवर्तनहरू, न्यायिक अखण्डता र साझेदारी निर्माण’ विषयमा छलफल गरेको थियो। अहमदले बंगलादेशका न्याय सुधार प्रगति र सकारात्मक परिवर्तनको रूपरेखा प्रस्तुत गरे। राउतले ‘संकट व्यवस्थापन गर्दा न्याय प्रदान गर्ने’ विषयमा नेतृत्व गरे भने मल्लले नेपालका संरचनात्मक सुधारबारे जानकारी दिइन्।
अर्को सत्रमा मल्ल र बंगलादेशकी फराह महबुबले ‘डिजिटलाइजेशन, लैगिंक न्याय, अदालतहरूको विशेषज्ञता, न्यायिक स्वतन्त्रता र अखण्डता’ मा संयुक्त नेतृत्व गरे। सो अवसरमा बंगलादेशका महिला न्यायाधीशहरू पनि सहभागी थिए। साँझ अहमदले राउत र नेपाली टोलीको सम्मानमा रात्रि भोज आयोजना गरेका थिए।
प्रकाशित: १७ कार्तिक २०८२ १०:१० सोमबार


-600x400.jpg)


