१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

छठले बढायो केराको माग र मूल्य

छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग धेरै बढेको छ। बजारमा केराको कारोबार बढेको छ।  

छठका लागि केराको आवश्यक माग भएकाले धेरै बिक्री भएको फलफूल व्यवसायीले बताएका छन्। छठ पर्वमा भगवान् सूर्यलाई अर्घ्य दिन प्रयोग हुने मुख्य प्रसाद ‘केरा’ को सिंगो घरीको माग जनकपुरधामसहित स्थानीय बजारमा धेरै बढेको केरा व्यापारीले जनाएका छन्।  

अहिले स्थानीय महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर, लक्ष्मीनियाँका बजारमा केराको कारोबार बढेको छ। त्यसैगरी जनकपुरधामलगायत मुख्य बजारदेखि गाउँका हाटबजारसम्म केरा किन्ने ग्राहकको भीड लागेको छ।  

छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात बढाउनुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए। उनको अनुसार यस वर्ष व्यापारीले भारत र अन्य जिल्लाबाट धेरै केरा खरिद गरी गोदाममा राखेका छन्।  

गोदाममा पर्याप्त केरा भएकाले यसपटक व्रतालुलाई केराको कमी नहुने अध्यक्ष यादवले बताए। केराको माग बढेसँगै मूल्य पनि बढेको छ। क्षीरेश्वरनाथ नगरपालिका–५ का रमेश गुप्ताको अनुसार अहिले स्थानीय बजारमा केराको प्रतिघरी मूल्य रु ६०० देखि रु एक हजारसम्म पुगेको छ, जुन गत वर्षको तुलनामा धेरै हो।  

छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा केरा भारतबाट ल्याइएको छ। स्थानीय स्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको फलफूल व्यवसायीको भनाइ छ। महेन्द्रनगरका जीवन फ्रुट सेन्टरका सञ्चालक जीवन साहले भने, ‘यस वर्ष झन्डै ७२ ट्रक केरा ल्याइएको छ।’  

जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरीको भारदह, भान्टाबारी र इनरुवाबाट ल्याइएको छ। मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बंगाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाइएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए।  

छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको मूल्य बढेको उनले बताए। ‘छठ मनाउने संख्या हरेक वर्ष बढेकाले केराको माग पनि बढेको हो, बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५/२० ट्रक बढी केरा मगाइएको छ,’ उनले भने। 

समितिका अध्यक्ष यादवको अनुसार १० चक्काको ट्रकमा एक हजार २०० घरी आउँछन्। प्रतिट्रक जनकपुरसम्म ल्याउँदा रु छ लाख खर्च हुने उनले जानकारी दिए। बजारमा प्रत्येक केराको घरी रु ५०० देखि एक हजारसम्ममा बिक्री हुन्छ।  

नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन्। नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराको उत्पादन हुन्छ। सम्भावना भए पनि प्राविधिक समस्याले केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ। रासस

प्रकाशित: ८ कार्तिक २०८२ १२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App