१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

भक्तपुरमा १२ वर्षमा एक पटक मनाइने चण्डेश्वरी अजिमा जात्रा

भक्तपुरमा १२ वर्षमा एक पटक मनाइने चण्डेश्वरी अजिमा जात्रा मनाइएको छ।

यो जात्रा लिच्छविकालीन कालदेखि मनाउँदै आएको परम्परा हो र गाईजात्राको भोलिपल्ट मनाउने चलन अनुसार आज मनाइएको हो। जात्राको क्रममा चण्डेश्वरी अजिमाको मूर्तिलाई खटमा राखेर खटलाई चासुखेल चण्डेश्वरी मन्दिर हुँदै सुकुलढोको, पाँचतले मन्दिर, टौमढी लगायत टोलटोलमा घुमाएर मनाइएको छ।

इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर चण्डेश्वरी जात्रा लिच्छविकालीन समयदेखि चलेको अध्ययनले देखाएको बताए। उनले भने, ‘आनन्ददेवकै समयमा चण्डेश्वरी अजिमा जात्राको सुरुवात भएको अध्ययनबाट प्रमाणित भएको छ।’

स्थानीय बुद्धकृष्ण कर्माचार्यले विसं २०४२, २०५२, २०६२ र २०७२ देखि जात्रा नियमित रूपमा मनाइने जानकारी दिए। उनले भने, ‘विसं २०४२ भन्दा पहिले १२ वर्षे जात्रा ३० वर्षसम्म रोकिएको थियो। निलबाराही धान नपाक्ने समस्या आएपछि पुनः सुरु गरिएको हो।’

चण्डेश्वरी मचा खलका अध्यक्ष विजयराम माकले भने, ‘विसं २०५२ मा विपद् अन्त्यका लागि जात्रा मनाइएको थियो। २०६२ सालमा चण्डेश्वरी अजिमा मुख्य देवता चोरी भएपछि नयाँ देवता बनाएर जात्रा मनाइयो। विसं २०७२ सालको महाभूकम्पपछि पनि जात्रा मनाइएको थियो।’

जात्रा व्यवस्थापन समितिका अध्यक्ष सानुलाल त्वानाबासुले यसवर्ष पनि विशेष पूजापाठ गरी जात्रा मनाइएको जानकारी दिए। उनले भने, ‘शक्तिकी देवीको रूपमा मानिने चाँपको काठबाट बनेको चासुः अजिमालाई खटमा राखेर विधिपूर्वक भक्तपुर नगरपरिक्रमा गराइएको छ।’ रासस

प्रकाशित: २६ श्रावण २०८२ २२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App