देशभर हाल मनसुनी वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव परेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानकै आसपास रहेको छ।
महाशाखाले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली भू-भागमा साधारणतया बादल लागेको जानकारी दिएको हो। पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने देखिन्छ।
मेघगर्जन र चट्याङको जोखिम हुनसक्ने क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।
प्रकाशित: १२ आश्विन २०८३ १०:०३ सोमबार





