चैतन्य एकेडेमीले राष्ट्रिय दायित्वलाई आत्मसात् गर्दै यही भदौ २७ र २८ गते विभिन्न आठ सत्रसहित नीति सम्मेलन गर्न लागेको छ।
उक्त संस्थाले पत्रकार सम्मेलन गरी सम्मेलनमा राजनीति र सुशासन, अर्थनीति र समावेशी समृद्धि, शिक्षा र संस्कार, समाजशास्त्र र मानव चेतना, कला, साहित्य र संस्कृति लगायत विषय सेमटिने जनाएको हो।
काभ्रेको धुलिखेलमा हुने सम्मेलनमा शासन, सेवाप्रवाह र प्रविधि, परराष्ट्र नीति, दिगो विकास, जलवायु परिवर्तन र हरित अर्थ नीति, आध्यात्म, मानवचेतना विषयमा समेत छलफल हुने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेश जोशीले बताए।
“नेपाल जस्तो सङ्क्रमणशील लोकतन्त्रमा स्पष्ट, वैज्ञानिक र संवेदनशील नीतिको खाँचो अझ बढी महसुस हुँदै गएको छ। वर्तमान अवस्थामा यो सम्मेलन नीति निर्माता, कार्यान्वयनकर्ता र सर्वसाधारण नागरिकबीच सेतु निर्माण गर्ने एक सार्थक प्रयास हो” उनले भने।
उक्त संस्थाले १३ वर्षदेखि नीति संवादका माध्यमबाट देशको समसामयिक प्राथमिकता र दीर्घकालीन सम्भावना उजागर गर्ने उद्देश्यले नीति सम्मेलनको आयोजना गर्दै आएको जनाएको छ।
यही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि १३ औं चैतन्य नीति सम्मेलन ‘नीतिदेखि समृद्धिसम्म राष्ट्र निर्माणको सार्थक यात्रा’ भन्ने मूल भावका साथ आयोजना गर्न लागेको हो।
नीति निर्माण, कार्यान्वयन र विश्लेषण सम्बन्धी क्षेत्रका वरिष्ठ विज्ञ, अनुसन्धानकर्ता, शिक्षक, प्रशासक, राजनीतिज्ञ, विचारक तथा समाजसेवीको सहभागिता हुने सम्मेलनमा वर्तमान समस्या र समाधानमूलक चिन्तनलाई प्राथमिकता दिइने प्रमुख कार्यकारी अधिकृत जोशीले बताए। साथै युवा, महिला, मधेश, जनजाति, सिमान्तकृत क्षेत्रका आवाजलाई नीतिगत विमर्शमा स्थान दिने र सम्भावना, आशा र सकारात्मकताको सञ्चार मूल मर्मका रूपमा समेटिने बताइएको छ।
प्रकाशित: १६ भाद्र २०८२ १३:१५ सोमबार





