४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

विकट गाउँमा पुग्यो केन्द्रीय विद्युत्, स्थानीयको दैनिकी परिवर्तन

भौगोलिक विकटता रहेको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको छ। यहाँका भौगोलिक रूपमा दुर्गम क्षेत्रमा पर्ने गाउँबस्तीमा पनि केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीयलाई सहज भएको छ।

स्थानीयले विद्युतको प्रयोग गरेर जीवनयापनलाई सहज बनाएका छन्। गाउँपालिकाको दुर्गम स्थानका रूपमा चिनिएको वडा नं ४ नागीको लुङ्गिन बस्तीमा पनि विद्युत् विस्तार भएपछि सहज भएको छ। जंगलको बीचमा रहेको यो बस्तीमा ठूलो लगानीमा विद्युत् सेवा विस्तार गरिएको छ।

विद्युत् विस्तारले गाउँघरको जनजीवनमा सहजता ल्याएको टेम्केमैयुङ–४ लुङ्गिनका स्थानीय रामबहादुर राईले बताए। ‘स्थानीय सरकार सञ्चालनमा आएपछि हाम्रो गाउँमा बिजुली बल्यो,’ उनले भने, ‘भौगोलिक रूपमा विकट रहे पनि सुविधा विस्तार हुँदा जीवनयापन गर्न सहज छ। अहिले अँध्यारोमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ।’

विद्युत् विस्तार भएपछि यो क्षेत्रका नागरिक सूचना र सञ्चारको पहुँचमा जोडिएको स्थानीय बलिराज राईले बताए। विद्युतीय उपकरणको प्रयोग गरेर जीवनयापनलाई समेत सहज बनाएको राईको भनाइ छ। ‘हाम्रो जस्तो दुर्गम गाउँमा बिजुली बल्दा निकै खुसी छौं,’ उनले भने, ‘अहिले गाउँमा नै इन्टरनेट चलाउन, टेलिभिजन हेर्न पाएका छौं। सूचनाको पहुँचमा जोडिन सहज भएको छ। गाउँ नै उज्यालो बनेको छ। बालबालिकाले उज्यालोमा सहज रूपमा पढ्न पाएका छन्।’

यहाँबाट गाउँपालिका केन्द्र अन्नपूर्ण र अन्य गाउँमा जान जंगलको बाटो भएर तीनदेखि चार घण्टासम्मको यात्रा गर्नुपर्ने उनले बताए। एक सय ७३.४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाका सबै जना विद्युतको पहुँचमा छन्। यहाँका नौवटै वडामा विद्युत् सेवा विस्तार भइसकेको छ। रासस

प्रकाशित: ५ आश्विन २०८२ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App