फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै मतदान स्थलमा सिसिटिभी क्यामरा जडान हुने भएको छ । पर्सामा १६७ मतदानस्थल छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार एक सूचना जारी गर्दै यहीँ फागुन १७ गतेभित्र ती मतदान केन्द्रमा सिसिटिभी जडान गर्ने जानकारी दिएको हो । पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता हरिबहादुर बस्नेतले आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित बनाउने उद्धेश्यले विशेष सुरक्षा व्यवस्था मिलाइएको बताए ।
निर्वाचनको सुरक्षा तथा प्रभावकारी अनुगमनका लागि जडान हुने सिसिटिभीमार्फत् मतदान स्थलहरुको निरन्तर निगरानी हुने बताउँदै बस्नेतले फागुन २१ मा हुने मतदान प्रक्रियालाई थप सुरक्षित, पारदर्शी र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रकाशित: ८ फाल्गुन २०८२ १९:४६ शुक्रबार





