२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

रामशरण महत अदालत उपस्थित हुनैपर्ने, मुद्दा मुलतबीमा राख्न विशेष अदालतद्वारा अस्वीकार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पूर्वअर्थमन्त्री डा. रामशरण महतविरुद्धको मुद्दा मुलतबीमा राख्न अस्वीकार गरेको छ।

मंगलबार न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले महतकी पत्नी रोशना महतले दिएको निवेदन खारेज गर्दै अदालतमा उपस्थित भएपछि स्वास्थ्य अवस्थालाई समेत विचार गरेर कानुनबमोजिम आवश्यक आदेश दिन सकिने उल्लेख गरेको छ।

अदालतले आदेशमा महत अदालतमा उपस्थित भएको अवस्थामा उनको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै आवश्यक निर्णय गर्न सकिने भएकाले हाल मुद्दा मुलतबीमा राख्न नमिल्ने स्पष्ट गरेको छ।

यसअघि विशेष अदालतले महतको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग स्वास्थ्य परीक्षणको प्रतिवेदनसमेत माग गरेको थियो। महत पक्षले उनी विगत दुई वर्षदेखि गम्भीर मानसिक तथा शारीरिक स्वास्थ्य समस्याका कारण होस–ठेगानमा नरहेको र अदालतमा उपस्थित भई प्रतिरक्षा गर्न नसक्ने अवस्थामा रहेको दाबी गर्दै मुद्दा मुलतबीमा राख्न आग्रह गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोपमा पूर्वअर्थमन्त्री महतसहित पाँच पूर्वमन्त्री, १० पूर्वसचिव, अन्य गरी ५५ जना व्यक्ति तथा एक कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

यसअघि अन्य प्रतिवादीहरू अदालतमा उपस्थित भई थुनछेक प्रक्रियामा सहभागी भइसकेका छन्। अब विशेष अदालतको आदेशसँगै डा. महतको उपस्थितिपछि मात्र उनको स्वास्थ्य अवस्थालाई आधार बनाएर थप कानुनी निर्णय हुने संकेत देखिएको छ।

प्रकाशित: ५ श्रावण २०८३ १९:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App