२६ पुस २०८२ शनिबार
image/svg+xml
समाज

महाकालीमा बहाव बढेपछि सतर्कता अपनाउन आग्रह

भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ । आज बिहानदेखि उक्त बाँधको ढोका खोलेपछि महाकालीमा पानीको बहाव बढेको छ । 

महाकालीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले दुवै जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजनाले सफाइ गर्न मङ्गलबार बाँधको ढोका खोल्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीलाई पत्राचार गरेको थियो । 

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले सूचना जारी गर्दै आज बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म महाकालीमा जलस्तर बढ्न सक्ने भएकाले व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले सो क्षेत्रका बासिन्दालाई सतर्ककता अपनाउन आग्रह गरेका छन् । 

यसैगरी बैतडीका प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले पनि महाकालीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका  छन् । महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका बासिन्दालाई नदी छेउछाउ नजान अनुरोध गरिएको छ । धौलीगङ्गाको बाँधको ढोका खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई नदी छेउछाउमा नजान र सतर्कता अपनाउन आग्रह गरिएको छ । 

प्रकाशित: २० श्रावण २०८२ १३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App