२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

विद्यालयको बिल पास गर्न डेढ लाख घुस लिने इन्जिनियरविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव मल्लविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

विद्यालय भवन निर्माणको अन्तिम बिल पास गरिदिएबापत सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको हो।

इन्जिनियर मल्ल बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत थिए। नगरपालिकाको वडा नम्बर-७ रम्भापुरस्थित एक विद्यालयको ४ कोठे भवन निर्माण सम्पन्न भएपछि त्यसको नापजाँच र अन्तिम बिल भुक्तानीमा सहजीकरण गरिदिने सर्तमा उनले घुस मागेका थिए।

सेवाग्राहीसँग डेढ लाख रुपैयाँ माग गरेको गोप्य सूचनाका आधारमा अख्तियारको बुटवलस्थित सम्पर्क कार्यालय नेपालगन्जको टोली खटिएको थियो।

सोही टोलीले उनलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको अख्तियारले बताएको छ।

अनुसन्धानका क्रममा इन्जिनियर मल्लले पदीय दुरुपयोग गर्दै आर्थिक अनियमितता गरेको पुष्टि भएपछि अख्तियारले सजायको मागदाबी लिएको छ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर स्थापित भएकोले उनीविरुद्ध मुद्दा अघि बढाइएको हो।

अख्तियारले मल्ललाई एक लाख ५० हजार रुपैयाँ नै बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय र बिगो बराबरको जरिवाना तिराउन माग गर्दै विशेष अदालतमा आरोपपत्र पेस गरेको हो।

प्रकाशित: २४ चैत्र २०८२ १८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App