२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

रास्वपा नेता पाँडेविरुद्ध मुद्दा: पहिला ‘सम्बन्ध’, पछि ‘अश्लील गाली’ !

साइबर अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता डा. अरनिको पाँडे धरौटीमा रिहा भएका छन् । उनीमाथि विद्युतीय माध्यमबाट महिलालाई ‘अश्लील गाली’ गरेको भनी मुद्दा दायर भएपछि अदालतले थुनछेक बहसबाट अदालतले रिहा गरेको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानअनुसार आफूसँग सम्पर्कमा रहेकी महिलालाई पाँडेले जिमेलमार्फत गाली गरेको अभियोग पत्रमा उल्लेख छ । उनले महिलालाई ‘....भएकै कारण तिम्रा पतिले छाडेका हुन् ?’ भन्ने प्रश्न समेत गरेको पनि पाइएको छ। 

साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। सोही अभियोग पत्रमा उल्लेख भएको रास्वपा नेता पाँडेको बयानअनुसार उनले आफूले पीडित महिलालाई गाली गरेको पनि स्वीकार गरेका छन्। 

के हो घटना?

साइबर ब्युरोले पीडित महिलाको नाम ‘साइबर ब्युरो–१३’ दिएर घटनाको अनुसन्धान गरेको छ। ती महिलाले आफ्नो छोराको विज्ञान विषयमा रुचि भएकाले पाँडेसँग सुझाव लिन सम्पर्क गरेकामा निजले जिमेल र वाट्सएपबाट अश्लील म्यासेज गरी मानसिक यातना दिएको, अपमान गरेको र हैरानी दिने काम गरेको भन्दै साइबर ब्युरोमा ‘विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही गरी पाऊँ’ भनेर जाहेरी दिएकी थिइन्। ब्युरो स्रोतका अनुसार पाँडेविरुद्ध भदौ ५ गते जाहेरी परेको थियो। 

सोही जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले भदौ ११ गते(बुधबार) पाँडेलाई पक्राउ गरेको थियो। जाहेरीमा पीडित महिलाले पाँडेले आफूलाई गरेको गालीको ब्यहोरा पनि उल्लेख गरेको ब्युरोले जनाएको छ। 

जिमेल र वाट्सएपमार्फत पाँडेले दिएको भनिएको गालीको ब्यहोरा हेर्नुस्: 

जिमेलमा गरिएको गालीको नेपाली अनुवाद

तँ ...सँग .., .., .., त्यसमा मलाई पश्चात्ताप छ। तँ ..., तेरो छोराले पनि तँ प्रति घृणा गर्नुपर्ने हो। तँ सधैँ मलाई सम्पर्क गर्छस्, मसँग जिस्किन्छेस्, ....सहरबाहिर हुँदा प्रायः मलाई बोलाउँछेस्। स्विमिङ गर्दा मलाई प्रलोभनमा पार्ने कोसिस गर्छेस्। जबकि तँ डिभोर्स भएकीसँग धेरै प्रेमी छन्। तँ सधैँ मलाई सहयोगका लागि सम्पर्क गर्छस्। घृणित, नीच श्रेणीकी ....। तेरो नक्कली बोली बन्द गर । मलाई कहिल्यै पनि सम्पर्क नगर।

यस्तै पाँडेले वाट्सएपबाट ‘के तेरो श्रीमान्ले यस कारणले छाडेको हो?’ भन्ने आशयले लेखेकोको आरोप पत्रमा उल्लेख छ । 

पाँडेद्वारा गाली गरेको स्वीकार !

पक्राउपछि पाँडेले अधिकारप्राप्त अनुसन्धान अधिकारीसँग दिएको बयानमा आफूले पीडित महिलाले निवेदनमा खुलाएअनुसारको गाली गरेको स्वीकार गरेका छन्।  

पाँडेले पीडित महिलासँग २०६९ सालदेखि चिनजान भएको बताएका छन्। आफ्नी पत्नीमार्फत चिनजान भएको र कहिलेकाहीँ पारिवारिक भेटघाट हुने पनि पाँडेले खुलाएका छन्।  तर, पीडित महिलाले आफूप्रति आशक्ति राखेजस्तो महसुस भएपछि २०७५/७६ देखि उनी नेपाल आएर कल गर्दासमेत बेवास्ता गर्ने गरेको पनि प्रहरीसमक्ष बताएका छन्। 

यसैबीचमा गत असार २५ गते आफ्नो दाँतको शल्यक्रिया गरेर दुखाइ कम गर्ने पेनकिलर खाएको अवस्थामा पीडित महिलाले फोन गरेर नेपाल आउन लागेको जानकारी दिएको पाँडेको बयान छ। 

उक्त कुराकानीमा आफ्नो पत्नी नेपालमा भए/नभएको, भेट गरौँ भनेको, पत्नी घरमा नभएको पत्ता लगाएर भेट्न बोलाउने गर्ने गरेकामा त्यो व्यवहार आफूलाई मन नपरेर वाट्सएपमार्फत ‘के तेरो श्रीमान्ले यस कारणले छाडेको हो? भन्ने आशयको म्यासेज गरेको पाँडेले स्वीकारेका छन्। 

यस्तै जिमेल म्यासेजको सन्दर्भमा उनले म्यासेज गएको जिमेल आफूले मात्रै चलाउने गरेको स्विकार्दै तर त्यो म्यासेज पठाए/नपठाएको याद नभएको बताएका छन्। 

‘मैले प्रयोग गर्ने एकाउन्ट हो, उक्त एकाउन्ट मबाहेक अरू कसैले प्रयोग गर्दैन,’ प्रहरीसँगको बयानमा पाँडेले भनेका छन्,‘मेरो दाँतको अप्रेसन गरी दुखाई कम गर्ने पेनकिलर औषधी खाई आराम गरी रहेको अवस्थामा जाहेरवालाले प्रयोग गर्ने जिमेलमा के कस्तो म्यासेज मैले लेखि पठाए सो मलाई सम्झना भएन ।’  लेखिएको म्यासेज हेर्दा आफूले पठाएको हुनुपर्छ पनि उनले बयानमा भनेका छन्। 

पाँडेले दिएको बयान

२० हजार धरौटीमा छुटे 

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरिसकेपछि बुधवारै पाँडेको थुनछेक बहस भएको थियो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको छ। 

प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार सरकारी वकिल कार्यालयले पाँडेमाथि विद्युतीय कारोबार ऐन, २०६३ दफा ४७ अनुसारको सजाय माग दाबी गरेको छ। 

यो मुद्दाको अन्तिम फैसला हुने बेला पाँडे दोषी ठहर भए एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

प्रकाशित: १३ भाद्र २०८२ १७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App