खोटाङको बेलाबेसीमा दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टर १ हजार १०५ घण्टा उडान अनुभव भएका ३४ वर्षीय क्याप्टेन सबिन थापाले उडाइरहेका थिए। कम्पनीका अनुसार दुर्घटनामा एक यात्रु घाइते भएका छन् भने क्याप्टेन थापासहित अन्य पाँच जना सकुशल छन्।
काठमाडौंबाट खोटाङतर्फ उडेको ९एन-एएफक्यू कलसाइनको हेलिकप्टर बिहान ११:५१ बजे दुर्घटनामा परेको हो। कम्पनीका अनुसार हेलिकप्टर उडाइरहेका क्याप्टेन थापासँग सात वर्ष लामो व्यावसायिक उडानको अनुभव रहेको छ।
दुर्घटनामा परी हेलिकप्टरमा सवार ७४ वर्षीय वृद्ध कतिबहादुर राई घाइते भएका छन्। उनको खुट्टा र आँखामा सामान्य चोट लागेको कम्पनीले जनाएको छ।
चालक दलका एक सदस्य र पाँच यात्रुसहित कुल ६ जना सवार रहेको उक्त हेलिकप्टर दुर्घटनापछि घाइते राईलाई तत्कालै उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएको छ।
एयर डाइनेस्टीका प्रवक्ता एवं वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले घाइतेको उपचार र परिवारको सहयोगका लागि अस्पतालमा चिकित्सक र तालिमप्राप्त कर्मचारी खटाइएको जानकारी दिए।
उनले भने, ‘हामीले घाइते यात्रु र उहाँको परिवारलाई पूर्ण सहयोग गरिरहेका छौं, यस घडीमा परिवारको गोपनीयताको सम्मान गरिदिन मिडियालाई आग्रह गर्दछौं।’
अनुभवी पाइलटले उडाइरहेको भए पनि दुर्घटनाको प्राविधिक कारण भने अझै खुल्न सकेको छैन। कम्पनीले सम्बन्धित निकायहरूसँग मिलेर घटनाको यथार्थ पत्ता लगाउन अनुसन्धान गरिरहेको र थप विवरण प्राप्त हुनासाथ सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: ४ चैत्र २०८२ १६:०३ बुधबार





