देवघाट क्षेत्र विकास समितिले प्लाष्टिकमुक्त देवघाट बनाउने अभियान सुरु गरेको छ । नवलपुरको गैँडाकोटस्थित ‘सहमति संस्था’सँगको सहकार्यमा देवघाट क्षेत्र विकास समितिले उक्त अभियान सञ्चालन गर्न लागेको बिहीरबार देवघाटमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
त्रिशूली, कालीगण्डकी र नारायणी नदीमा प्लाष्टिकजन्य फोहर फालिँदा नदी प्रदूषित बन्दै गएकाले नदीलाई स्वच्छ राख्न अभियान सुरु गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा इश्वरी लौडारीले जानकारी दिए । उनका अनुसार देवघाट क्षेत्रभित्र प्लास्टिकलाई निरुत्साहन गर्न अभियान नै सञ्चालन गरिने छ ।
देवघाट स्नान गर्न आउने तीर्थालुले प्लास्टिकका झोलामा पूजा सामग्री लिएर आउने र नदीमा यसै छाड्दा यसले पर्यावरणमा असर पुर्याएकाले नदी प्रदूषण रोक्न अभियान सुरु गरिएको उनको भनाई छ ।
नवलपुर, तनहुँ र चितवनमा पर्ने यस पवित्र तीर्थस्थलमा टाढाटाढाबाट तीर्थालु आउने गरेका भन्दै अभियानले नदीलाई सफा र हराभरा रुपमा बग्न मद्दत गर्ने उनले बताए । उनले नारायणी नदीलाई व्यवस्थित बनाउनका लागि सबै पक्षले सकरात्मक पहल गर्नुपर्ने बताए । उनले फोहोर व्यवस्थापन गर्न सकिएन भने जलचरमा ठुलो समस्या आउने बताए ।
सहमति संस्थाका अध्यक्ष ओमनाथ सुवेदीले सर्वसाधरणमा फोहार व्यवस्थापन सम्बन्धी जनचेतना जगाउन सके नारायणी नदीलाई स्वस्छ बनाउन सकिने बताए । धार्मिक क्षेत्रमा प्लाष्टिकको प्रयोग बढ्दो रहेको भन्दै प्लाष्टिक जन्य फोहोर व्यवस्थापनमा सबै पक्ष लाग्नुपर्ने बताए । नारायणी नदीको सरसफाईलाई व्यवस्थित बनाउनका लागि आफूहरुले तीन वर्षदेखि काम गरिहेको बताउँदै अहिले ‘नदी संगै हामी अभियान’मा १३ वटा संस्था लागेको बताए । यो अवधिमा विभिन्न संघ संस्थासंग मिलेर सरसफाई सम्बन्धी १५० भन्दा बढी कार्यक्रम गरिएको उनले बताए ।
नारायणी नदीमा कपडा तथा प्लाष्टिक जन्य फोहोर बढ्दै गएको छ । बेटर चितवनका संस्थापक इन्जिनियर सागर कार्कीका अनुसार नारायणी नदीको भरतपुर महानगरपालिका तर्फ प्रतिहेक्टर १ हजार ३६१ र गैडाकोट तर्फ प्रतिहेक्टर १६३ केजि फोहोर रहेको छ । पछिल्लो समयमा फोहोरको मात्रा कम भएपनि भरतपुर तर्फभन्दा गैँडाकोट तर्फ हानिकारक फोहोरको लिक्विड बढी रहेको उनले बताए ।
देवघाटमा दाहासंस्कार गर्दा निस्कने फोहोर बढी छ । कालिगण्डकी र त्रिशुलीको सभ्यता बचाउन भरतपुर महानगरपालिका, देवघाट गाउँपालिका र गैँडाकोट नगरपालिका लाग्नुपर्ने बताउँछन् सहमति संस्थाका तारा सुवेदी ।
प्लास्टिकजन्य फोहरलाई निरुत्सान गर्नका लागि देवघाट क्षेत्र विकास समितिले नदी स्नान गर्न प्रवेश गर्ने स्थानमा कपडाको झोला वितरण गर्ने गरेको समितिका कार्यकारी निर्देशक सजन बरालले जानकारी दिए ।
प्लास्टिकजन्य फोहर नियन्त्रण गर्न झोला वितरण मात्रै प्रभावकारी नहुने भन्दै उनले जनचेतना फैलाएर घरबाटै प्लास्टिक नबोक्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । आफूहरुको अभियानलाई देवघाटसँग जोडिएका तीन वटै जिल्लाका पालिकाबाट सहयोग रहेको र उनीहरुले बजेट विनियोजन गरेको कार्यकारी निर्देशक बरालको भनाइ छ ।
प्रकाशित: २५ मंसिर २०८२ १९:३६ बिहीबार





