३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटीमा मन्त्रिपरिषद्को निर्णय बाँकीः कुलमान घिसिङ

उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति जुटेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमा लेख्दै घिसिङले १२०० मेगावाट क्षमताको उक्त आयोजनाको लगानी मोडालिटीमा सहमति हुनु केवल प्रशासनिक प्रक्रिया मात्र नभई वर्षौंदेखि प्रतीक्षामा रहेको राष्ट्रको सपनातर्फको ठोस कदम भएको बताए। उनका अनुसार मन्त्रिपरिषबाट निर्णय हुने चरणमा आयोजना पुगेको छ।

आफू ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री हुँदा गत मंसिरको पहिलो साता आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड अमेरिकी डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) रहने गरी ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वःपुँजीबाट लगानी मोडालिटी तयार भएको उनको भनाइ छ।

उक्त मोडालिटीअनुसार सरकारको आयोजनामा स्वःपुँजीवापत ९७ अर्ब ४७ करोड रुपैयाँ र सहुलियतपूर्ण कर्जा वापत १ खर्ब ५० अर्ब रुपैयाँ गरी कुल २ खर्ब ४८ अर्ब रुपैयाँ लगानी उल्लेख गरेका छन्। साथै सरकारले हालसम्म आयोजनामा खर्च गरेको ४५ अर्ब रुपैयाँलाई कम्पनीको शेयर लगानीमा रूपान्तरण गरिने उनले बताएका छन्।

स्वदेशी लगानीमै यति ठूलो आयोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ यो मोडालिटी तयार गरिएको बताउँदै घिसिङले वर्षौंदेखि अन्योल, बहस र प्रतिक्षामा सीमित रहेको बूढीगण्डकी आयोजना अब निर्माणतर्फ अघि बढ्ने मोडमा पुगेको जिकिर गरे।

घिसिङले आफूले ऊर्जा क्षेत्रमा बिताएको ११५ दिनको कार्यकालमा भएको महत्वपूर्ण काम मध्ये बुढीगण्डकी आयोजनाको लगानी मोडालिटी सहमति प्रमुख उपलब्धि रहेको पनि बताएका छन्।    

प्रकाशित: ३ माघ २०८२ १०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App