महेन्द्र राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्ट नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
जनकपुरबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ७४५७ नम्बरको बस शनिबार बिहान ११:१५ बजे अनियन्त्रित भई दुर्घटना भएको हो।
बसमा सवार ३०/३५ जना यात्रुमध्ये घाइते भएका ९ जनालाई तत्कालै उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी रातोमाटे र इलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले बस चालक महोत्तरी स्थायी ठेगाना भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–८ बस्ने ५० वर्षीय धनिराम बि.क.लाई नियन्त्रणमा लिएको छ।
सडक किनारमा पल्टिएको बस उठाउन क्रेनसँग समन्वय भइरहेको छ। हाल राजमार्गमा सवारी आवागमन सुचारु रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २० असार २०८३ १४:५२ शनिबार





