महावु गाउँपालिका छिर्ने प्रमुख नाका तारागाढ खोलाको पुल निर्माण सम्झौताको ८ महिना अगाडि नै निर्माण सम्पन्न भएको छ । निर्धारित समयमा काम नहुँदा पीडा पोख्ने स्थानीय समयअगावै काम हुँदा खुसी भएका छन् । सवारीका साधनहरु खोलाबाट तर्दै आएका महावुका स्थानीयहरु पुल निर्माण सम्पन्न भएपछि थप खुसी भए।
पूर्वाधार विकास कार्यालय दैलेख र आरबी कन्स्ट्रक्सन दैलेखबीच २०८१ वैशाख १७ गते सम्झौता भएको थियो । सम्झौता अनुसार पुल २०८३ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने भनिए पनि सम्झौता अवधिभन्दा पहिला नै काम सकेको हो । कम्पनीले कार्यालयसँग ३ करोड ६२ लाख ७६ हजार ४ सय ६३ रुपैँया ७९ पैसामा (भ्याट सहित) पुल निर्माणको सम्झौता भएको थियो । स्थानीयका अनुसार पुल निर्माणअघि महावु गाउँपालिकातर्फ आवतजावत गर्न खोलामै मोटरसाइकल तथा सवारीसाधन चलाउनुपर्ने बाध्यता थियो । पुल बनेसँगै अब गाउँपालिकाका सबै वडाका बासिन्दालाई सहज आवतजावतको सुविधा मिलेको वडा नं. २ का अध्यक्ष प्रकाश थापाले बताए ।
आरबी कन्स्ट्रक्सनका प्रोपाइटर रुपक थापाले आफ्नो कम्पनीले समयअगावै निर्माण सम्पन्न गर्ने परम्परा राखेको भन्दै आगामी काममा पनि त्यही प्रतिबद्धता जारी रहने बताए । उनले पुल निर्माण समयमा सम्पन्न भएपछि यसअघिका कार्यालयबाट कम्पनी पुरस्कृत हुँदै आएको बताएका छन् ।
पूर्वाधार विकास कार्यालय दैलेखका अन्य योजनाको प्रगति सुस्त हुँदा पनि तारागाढ पुल निर्धारित समयभन्दा अघि निर्माण सम्पन्न हुनु कार्यालयकै लागि सकारात्मक उपलब्धि र प्रगतिका रुपमा हेरिएको छ । महावु गाउँपालिका जोड्ने तारागाढ खोला पुल समयभन्दा अघि सम्पन्न भएको पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख प्रविण कार्की बताए ।
प्रकाशित: २४ कार्तिक २०८२ १५:४५ सोमबार





-600x400.jpg)