बाजुराको त्रिवेणी नगरपालिका–९ बिस्नापानी भन्ने स्थानमा बिहीबार राति ८ बजे भीरबाट खसेर मृत्यु भएका व्यक्तिको शव निकालिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षाफौजले शुक्रबार साँझ शव निकालेको हो।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने ५२ वर्षीय विप्लव ओझा बडीमालिका मन्दिर दर्शनपछि नाटेश्वरी धाम जाने क्रममा बाटोबाट चिप्लिएर करिब ७ सय मिटर तल बिस्नापानी खोल्सामा खसेका थिए।
सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराबाट बडीमालिका त्रिवेणी धाममा मेला सुरक्षार्थ खटिएको टोली र नेपाल प्रहरीको संयुक्त सुरक्षाफौज उद्धारमा परिचालित भएको थियो।
थप सहयोगका लागि आश्रित गुल्म बाजुराबाट २३ गते बिहान विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षा फौज त्यसतर्फ पठाइएको थियो। सोही फौजले खोंचबाट शव निकालेको हो।
प्रकाशित: २४ श्रावण २०८२ ११:१५ शनिबार





