बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका–६ सुकेलीका अन्दाजी ५८ वर्षीय प्रेमसिंह बिष्ट छन्। यो जानकारी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले दिएका हुन्।
बडूका अनुसार बिहीबार दिउँसो ४ बजेतिर घरबाट सिउडे जान्छु भनी हिँडेका बिष्ट आज मृत फेला परेका थिए। बिहीबार अबेरसम्म घर नफर्किएपछि परिवारले खोजीका लागि इलाका प्रहरी कार्यालय पाटनमा खबर गरेको थियो। सोही अनुसार खोजी गर्दा दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ अन्नाडी मोडबाट करिब एक सय मिटर तल बिष्टको शव फेला परेको हो।
बिष्टले चलाएको सुप्र ०१–०११ प ७१५१ नम्बरको मोटरसाइकल पनि सडकबाट तल खसेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक बडूले बताए। बिष्टको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
प्रकाशित: ७ कार्तिक २०८२ १४:४७ शुक्रबार


-600x400.jpg)


