२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

कर्णाली नदी किनारमा फेला परेको शव १८ वर्षीया सिर्जना खड्काकै भएको पुष्टि

कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि बेपत्ता भएकी कालिकोटकी १८ वर्षीया सिर्जना खड्काको शव कर्णाली नदी किनारमा फेला परेको पुष्टि भएको छ।

सुर्खेतको चौकुने गाउँपालिका–४ डङ्डगेस्थित कर्णाली नदी किनारमा गत असार २३ गते बेवारिसे अवस्थामा घोप्टो परेको एक महिलाको शव फेला परेको थियो। प्रारम्भिक रूपमा पहिचान हुन नसकेको उक्त शव सिर्जनाकै भएको उनका बुवा धनबहादुर खड्काले सनाखत गरेपछि पुष्टि भएको हो।

सवारी दुर्घटनापछि नदीमा बेपत्ता भएकी सिर्जनाको शव पहिचान भएपछि परिवार शोकमा डुबेको छ। परिवारले शव बुझेर अन्त्येष्टिको तयारी गरिरहेको जनाइएको छ।

यसअघि सोही दुर्घटनामा ज्यान गुमाएका मेगे तिरुवा र जेखे तिरुवाको शव आफन्तले बुझेर दाहसंस्कार गरिसकेका छन्।

प्रहरीका अनुसार दुर्घटनामा बेपत्ता भएका गाडी चालक र सहचालकको शव अझै फेला पर्न बाँकी रहेको छ। खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ असार २०८३ २०:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App