रसुवामा आएको भीषण बाढीले त्रिशूली नदीमा बगाएर ल्याएको आशंका गरिएका सात जना पुरुषका शव तथा केही मानव अंग गोरखाका विभिन्न स्थानमा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बुधबार दिउँसो करिब २:३० बजे स्थानीयवासीले त्रिशूली नदीका विभिन्न स्थानमा शव तथा मानव अंग देखिएको जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि सम्बन्धित प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो।
प्रहरीका अनुसार गण्डकी गाउँपालिका–८ धवादीघाटस्थित त्रिशूली नदी किनारमा एउटा खुट्टा नभएको पुरुषको शव फेला परेको छ। त्यस्तै, गण्डकी गाउँपालिका–६ भुम्लिचोकमा रुखमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
गण्डकी गाउँपालिका–१ बुट्टारस्थित त्रिशूली नदी किनारको टिनको छाप्रोमा मानिसको एउटा खुट्टा फेला परेको प्रहरीले जनाएको छ। यस्तै, गण्डकी गाउँपालिका–४ फेवाटारस्थित त्रिशूली नदी किनारको खेलमैदानमा एक पुरुषको टाउको फेला परेको छ।
यसैगरी गण्डकी गाउँपालिका–७ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला परेको छ।
सहिद लखन गाउँपालिका–३ सिलिङटारस्थित त्रिशूली नदी किनारमा तीन जना पुरुषका शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रहरी विवरणअनुसार विभिन्न स्थानमा फेला परेका शव जोड्दा कुल सात जना पुरुषका शव तथा केही मानव अंग फेला परेका छन्। फेला परेका शव तथा मानव अंग रसुवा क्षेत्रमा आएको बाढीले त्रिशूली नदी हुँदै बगाएर ल्याएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। यद्यपि यसबारे यकिन भइसकेको छैन।
फेला परेका शव तथा मानव अंगको पहिचान खुल्न बाँकी छ। मृतकहरू कहाँका हुन् भन्ने विषयमा प्रहरीले अनुसन्धान तथा पहिचानको प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरी टोलीले घटनास्थलबाट शव तथा मानव अंग संकलन गरी आवश्यक मुचुल्का तयार पार्ने तथा पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।
यसैबीच प्रहरीले त्रिशूली नदीको बहाव तथा आसपासको अवस्था अझै जोखिमपूर्ण रहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रकाशित: १० भाद्र २०८३ १८:२६ बुधबार




