२९ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

वीरगञ्ज महानगरपालिका प्रमुख सिंहलाई सफाइ

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई सोमबार विशेष अदालतले सफाइ दिएको छ।

विशेष अदालतमा भएको बहसपछि न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र दिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित ७ जनालाई सफाइ दिएको हो।

अदालतको आदेशसँगै सिंहको तीन महिने निलम्बन पद स्वतः फुकुवा भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते विशेष अदालतमा सिंहले अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झुटो विवरणका आधारमा नागरिकता दिलाएको ठहर गर्दै ७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

मुद्दा दायर भएसँगै सिंह मेयर पदबाट निलम्बनमा परेका थिए। विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि सार्वजनिक पदमा रहेका व्यक्तिको पद निलम्बन हुने कानुनी व्यवस्थाअनुसार उनी जेठ २५ गतेदेखि निलम्बनमा परेका थिए।

सिंहमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टाराईकी छोरीलाई आफ्नै छोरी ‘रुविना श्रेष्ठ’ कायम गरी नागरिकता दिलाएको आरोप अख्तियारले लगाएको थियो।

विशेष अदालतमा अख्तियारले सिंहसँगै वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठाकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षाडकुमार पोखरेल, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पशुराम पोखरेलविरुद्ध पनि मुद्दा दायर गरेको थियो।

सिंह निलम्बित भएपछि वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए।

प्रकाशित: २९ भाद्र २०८३ १९:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App