पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दिउँसो अवतरणको क्रममा बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ। ९एन एओसी कलसाइनको जहाजमा अवतरणको क्रममा शनिबार दिउँसो साढे ३ बजे चरा ठोक्किएको हो।
काठमाडौंबाट पोखरा उडेको बुद्धको उडान नम्बर ६१७ को जहाजमा चरा ठोक्किएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए । जहाज सकुशल अवतरण भएपछि यात्रु बाहिरिएका थिए ।
चरा ठोक्किएको जहाजलाई अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिकहरुले चेकजाँच गरिरहेको उनले बताए। ‘प्राविधिकहरुले अहिले जहाजलाई पोखरामा निरिक्षण गरिरहेका छन। के कस्तो क्षति भएको भनेर अहिले जानकारी आईसकेको छैन, जहाज पोखरामै छ,’ उनले भने। केहीदिन अघि पनि यसैगरि पोखरामा जहाज चरासँग ठोक्किएको थियो।
पछिल्लो समय पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराका गतिविधिहरु बढेको उनले बताए। ‘चराकै गतिविधिका कारण जहाज ओभरसुट गर्ने गरिएको छ। त्यसबाहेक बेलाबेला जहाजलाई आकाशमै घुमाएर चरा धपाएपछि अवतरण गराउने अवस्था आएको छ,’ कर्णले भने, ‘चराकै कारण पोखरामा सकस थपिएको छ।’ पोखराबाहेक जनकपुर विमानस्थलमा पनि बेलाबेला चराकै कारण समस्या थपिने गरेको समेत उनले बताए।
प्रकाशित: १३ मंसिर २०८२ १६:४० शनिबार





