२३ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

देशभर २३ स्थानमा बर्ड फ्लू पुष्टि

यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्ड फ्लू देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्ड फ्लू रोग देखिएको बताए । यसअघि चैत अगाडि यस वर्ष बर्ड फ्लू देखिएको थिएन ।  

यस वर्ष पहिलोपटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्ड फ्लू देखिएको थियो । उनका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापा दुई ठाउँ, चितवनमा एक ठाउँ र काठमाडौंमा एक स्थानमा बर्ड फ्लू देखिएको छ । उनले बर्ड फ्लू देखिएको स्थानलाई नियन्त्रणमा लिई फैलिन नदेखिएको बताए ।  

उनका अनुसार ती स्थानमा एक लाख चार हजार कुखुरा एवं हाँस नष्ट गरिएको छ । काठमाडौंको त्रिभुवन विश्वविद्यालय परिसरका कागमा बर्ड फ्लू देखिएको थियो । सुनसरी, झापा र मोरङमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि ती जिल्लामा पशुपक्षी ओसारपसारमा प्रतिबन्ध लगाइएको महानिर्देशक डा दाहालले बताए ।  

‘बर्ड फ्लू देखिएको स्थानमा हामीले बर्डफ्लु क्षेत्र घोषणा गरेर आकस्मिक रोग अन्वेषण टोलीले ती पशुपक्षीलाई नष्ट गर्ने काम गरेको छ,’ उनले भने, ‘हामीले बर्ड फ्लू रोग नियन्त्रणमा गरेको कामबाट धेरै नमूनामा बर्ड फ्लूको सङ्क्रमण देखिएको छैन ।’  

सरकारले बर्ड फ्लू देखिएपछि हाँस, कुखुरा नष्ट गर्ने गर्दछ र सो बापत ७५ प्रतिशत क्षतिर्पूति किसानलाई उपलब्ध गराउँदै आएको छ । 

प्रकाशित: २३ चैत्र २०८२ १४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App