३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

विपिनको मृत्यु रहस्यमय, इजरायल र हमासले कारण खुलाएनन्

इजरायलसँगको युद्धमा प्यालेस्टिनी अतिवादी समूह हमासले युद्ध बन्दी बनाएका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको इजरायलले पुष्टि गरेको छ। तर, विपिनको मृत्यु कसरी भयो भन्ने प्रश्न अनुत्तरित र रहस्यमय छ। 

दुई वर्षसम्म अवस्था अज्ञात रहँदा सधैँ विपिन जीवितै स्वदेश फर्किन्छन् भन्ने आशा परिवार, समग्र नेपाली र विश्व समुदायको थियो। तर, एकाएक इजरायली सेना र परराष्ट्र मन्त्रालयले विपिनको मृत्युको खबर दिँदा धेरैलाई त्यो खबर पत्याउन गाह्रो भइरहेको छ। सँगै परिवारजनमा थप पीडा पुगेको छ।  

कञ्चनपुरका विपिन सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत थिए। त्यहाँबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत विसं २०८०मा इजरायल गएका थिए। विपिनसहितको नेपाली विद्यार्थीको टोली किबुज अलुमिममा थियो। 

जहाँ २०८० असोज २० गते(७ अक्टोबर २०२३) मा हमास समूहले इजरायली भूमिका प्रवेश गरेर आक्रमण गर्‍यो। उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको हत्या भएको थियो। विपिनलाई भने हमासका लडाकुहरूले अपहरण गरेर लगेका थिए। हमासले अपहरण गरे पनि हालसम्म विपिन जीवितै रहेको आशा गरिएको थियो। 

तर, दुई वर्षपछि आएर उनी अब जीवित नरहेको खबर बाहिरिएको छ। हमासले उनको शव इजरायललाई हस्तान्तरण गरिसकेको छ, इजरायलले डिएनए परीक्षण गर्दा शव विपिनकै रहेको पुष्टि भएको दाबी गरेको छ। विपिनको शव अझै नेपाल पुगेको छैन। 

इजरायल र हमास दुवै पक्षले विपिनको मृत्यु कसरी भयो भन्ने खुलाएका छैनन्। इजरायलले हमासमाथि क्रूर ढंगले हत्या गरेको दाबी गरेको छ। आफ्नो सूचनालाई हवाला दिँदै इजरायलले विपिनको हत्या २०२३ को अन्त तिरै भइसकेको दाबी पनि गरेको छ। तर इजरायलले विगतमा दिँदै आएका प्रतिक्रिया र अहिलेको सूचना पूर्ण रूपमा विश्वास गर्ने खालको भने छैन। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा पनि विपिनको मृत्युबारे फरक फरक धारणा आइरहेका छन्। हमासको आक्रमणपछि अन्तिम पटक अक्टोबर ७, २०२३ मा विपिनलाई गाजाको एक अस्पतालमा देखाइएको थियो। पछिल्लो पटक इजरायली सेनाले सार्वजनिक गरेको विपिनको एउटा भिडियो फुटेजले उनी जीवित रहेको आशा गरिएको भए पनि उक्त आशा निराशामा बदलिएको छ। 

केही दिन अघि मात्रै विपिन जीवित वा मृत कुन अवस्थामा छन् भन्ने जानकारी नभएको बताइरहेको इजरायलले हमासले शव हस्तान्तरण गरेपछि उनको मृत्यु दुई वर्ष अघि नै भइसकेको दाबी गरेपछि शंका जन्माएको छ। 

टाइम्स अफ इजरायल र जेरुसेलम पोस्टलगायत इजरायली अखबारले विपिनको नाम जीवित बन्धकको सूचीमा समावेश गरेका थिएनन्। यता  भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले विपिन एक मात्रै हिन्दु भएकाले उनको मृत्युको कारण विश्लेषण गर्नुपर्ने भनेको छ। 

यता हमासको आक्रमण भोगेर बाँचेर फर्किएका विपिनका साथीहरू पनि उनको मृत्युको विश्वास गरिरहेका छैनन्। संयोगले बाँचेर आएका टीकापुरका धनबहादुर चौधरी विपिनलाई आफ्नो जीवनदाता नै सम्झन्छन्। 

‘बंकरभित्र हमासले फालेको एउटा ग्रिनेड विपिनले बाहिर फाल्यो। त्यसले गर्दा हामी धेरै जनालाई नयाँ जीवन मिल्यो,’ धनबहादुर भन्छन्, ‘तर, दुर्भाग्यवश, अर्को ग्रिनेड पड्किएर धेरै घाइते भयौँ। हाम्रो उपचार भयो, हामी बाँचेका छौँ, तर ऊ आउँछ, फर्कन्छ भन्ने आशा पनि अब निराशामा परिणत भयो।’ 

धनबहादुर चौधरी र विपिन जाेशी

चौधरीसहितका घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगियो। ‘विपिनसँगको अन्तिम भेट त्यही बंकरभित्र हो। उसलाई हमासले कहाँ लग्यो, के ग¥यो? थाहा नै भएन,’ चौधरीले भने। 

विपिनको मृत्युको खबर सुन्दा उनलाई पुरानो घाउ बल्झिएझैँ लागिरहेको छ। उनी भन्छन्, ‘हामीलाई जीवन दिएर ऊ आफैँ विदेशी भूमिमा अस्तायो। यदि हमासले लामो समय पहिला नै बितेको खबर दिएको भए अहिलेसम्म पीडा कम हुने थियो।’ विपिनको मृत्युबारे सत्य तथ्य हमास र इजरायली सरकारले सत्य तथ्य सार्वजनिक गर्नुपर्ने उनको माग छ। 

विपिनका साथीहरूमा नेपाल सरकारका तर्फबाट पनि उनको रिहाइमा नतिजामुखी प्रयास भएन कि भन्ने गुनासो छ। तर नेपाल सरकार, तत्कालीन मन्त्रीहरू, परराष्ट्र मन्त्रालयले बेलाबेला अन्तर्राष्ट्रिय मञ्च तथा हमासको सम्पर्क सूत्रमा रहेका विभिन्न देशका सरकारसँग पहल गरेकै थिए। 

तत्कालीन परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले अन्तर्राष्ट्रिय मञ्चमा हमासको आक्रमणको स्पष्ट रूपमा निन्दा गर्दै विपिनको रिहाइका लागि विश्वव्यापी सहयोगको अपिल गरेकी थिइन्।

जेनेभामा भएको संयुक्त राष्ट्र संघको ७९औँ महासभाको कार्यक्रममा सहभागी हुँदा मन्त्री देउवाले आफ्नो सम्बोधनमा हमासको कदमलाई आतंकवादी आक्रमणको संज्ञा नै दिएकी थिइन्। देउवाले अपहरणमा परेका आफ्ना नागरिक विपिनको मुक्तिको प्रतीक्षा गरिरहेको बताउँदै विश्व समुदायलाई उनको सुरक्षित रिहाइका लागि पहल गर्न आग्रह गरेकी थिइन्।   

कतिपय विश्लेषकको गाजा युद्ध र प्यालेस्टिनी भूमिबारे नेपाल सरकारले लिएको तटस्थताको नीतिले विपिनको रिहाइमा सकारात्मक दबाब पुग्न नसकेको टिप्पणी पनि गर्ने गरेका छन्।  

परराष्ट्रविद् डा हरि चन्दले नेपाल सरकारसँग राष्ट्रिय हितका लागि स्पष्ट दृष्टिकोण र प्राथमिकताको अभाव रहेको बताएका छन्। ‘विपिन जोशीलाई गुमाउनु पछाडिको मुख्य कारण नेपालको कमजोर कूटनीतिक क्षमता र सरकारको अस्थिरता हो,’ उनी भन्छन्, ‘सरकारले कुन देशसँग कस्तो सम्बन्ध राख्ने भन्ने बारेमा स्पष्ट निर्णय लिन सकेको छैन। इजरायलसँग राम्रो सम्बन्ध भए पनि परराष्ट्र नीतिमा स्वतन्त्र प्यालेस्टाइनको विषयमा बोल्न नमिल्ने भए पनि शक्ति राष्ट्रहरूसँग सम्बन्ध स्थापित गर्नुपर्नेमा सरकार चुकेको देखिएको छ।’ 

परराष्ट्रविद् डा हरि चन्द 

आफ्ना नागरिकलाई द्वन्द्व क्षेत्रबाट कसरी जोगाउने भन्नेबारेमा विगतदेखि नै कुनै दूरगामी सोच बनाउन नसक्दा पनि समस्या भइरहेको उनी बताउँछन्।   

प्रकाशित: ३० आश्विन २०८२ १६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App