भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि सात हजार चार सय १५ जना सुरक्षाकर्मी परिचालन भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका तीन हजार तीन सय १८, नेपाली सेनाका दुई हजार तीन सय ५५ र सशस्त्र प्रहरी बल नेपालका एक हजार सात सय ४२ जना सुरक्षाकर्मी परिचालन भएको जानकारी दिए।
बाढी प्रभावित क्षेत्रमा हालसम्म दुई सय ३९ वटा हेलिकोप्टर उडानमार्फत खोज तथा उद्धार कार्य गरिएको प्राधिकरणले जनाएको छ। त्यसमध्ये नेपाली सेनामार्फत दुई सय ११ वटा र निजी क्षेत्रका हेलिकोप्टरबाट २८ जनाको उद्धार भएको छ।
प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत व्यवस्थापनको कार्य निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ।
तिब्बततर्फबाट भोटेकोशी नदी हुँदै आएको उक्त बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेंसी हुँदै त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा गम्भीर जोखिम सिर्जना भएको प्राधिकरणले जनाएको छ।बाढीका कारण तटीय क्षेत्रका विभिन्न स्थानमा जनधनको क्षति भएको छ।
विपद्पछि खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर परिचालन गरिएको छ। घाइतेको उपचारका लागि नुवाकोट जिल्ला अस्पतालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकसहितका स्वास्थ्य टोली परिचालन भएका छन्।
बाढी प्रभावितका लागि नेपाली सेनाका ब्यारेकमा त अस्थायी बसोबास, खानेकुरा, खानेपानी तथा औषधिको व्यवस्था गरिएको छ।
प्रकाशित: ११ भाद्र २०८३ ११:३१ बिहीबार





