बाढी प्रभावित क्षेत्रमा फसेका तथा सम्पर्कविहीन नागरिकको तत्काल खोजी र उद्धार गर्न माग रास्वपा सांसदले माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला सभापतिसमेत रहेका हरि पन्तले बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
उनले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत पर्साका इन्जिनियर दिलीप यादव बाढीपछि सम्पर्कविहीन रहेको उल्लेख गर्दै अहिलेसम्म उनको अवस्थाबारे जानकारी हुन नसकेको बताए।
पर्साकै सुनिलमान डङ्गोल, अच्युतम श्रेष्ठ, कमरुल होद्दा अन्सारी, समिम आलमलगायतका नागरिक पनि बाढीपछि सम्पर्कविहीन रहेको भन्दै उनीहरूको शीघ्र खोजी र उद्धारका लागि सरकारले विशेष पहल गर्नुपर्ने पन्तले बताए।
‘मेरो निर्वाचन क्षेत्र मात्र होइन, समग्र पर्सा जिल्लाका धेरै नागरिक बाढीपछि सम्पर्कविहीन छन्। उनीहरूका परिवार र आफन्त अहिले पनि सास वा लासको आशामा बसिरहेका छन्,’ उनले भने।
विपद्का बेला सरकारले गरिरहेको उद्धार तथा खोजी कार्यलाई आफूहरूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै पन्तले स्रोत, साधन र विशेषज्ञ जनशक्तिको अभावका कारण अपेक्षाअनुसारको परिणाम आउन नसकेको बताए।
सरकारले सञ्चालन गरेको उद्धार अभियानबाट अपेक्षित प्रगति हुन नसकेको भन्दै उनले मित्रराष्ट्रहरूसँग आवश्यक सहयोग, समन्वय र सहकार्य गरेर परिणाममुखी ढंगले खोज तथा उद्धार अभियान सञ्चालन गर्न सरकारलाई सुझाव दिए।
‘बाढीका कारण बेपत्ता भएका तथा विभिन्न आयोजना र संरचनामा फसेका सबै नागरिकको खोजी, उद्धार र राहतलाई उच्च प्राथमिकतामा राख्नुपर्छ,’ पन्तले भने।
उनले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोटलगायतका बाढी प्रभावित जिल्लामा पुगेका पर्साका ४३ जना नागरिक अझै सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बाढीपछि सुरुमा ५० जना नागरिक सम्पर्कविहीन भएको जानकारी आएको थियो। तीमध्ये छ जना आफैं सम्पर्कमा आएका छन् भने तीन जनालाई उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको छ।
बाँकी ४१ जनाको खोजी तथा अवस्थाबारे जानकारी लिने काम भइरहेको दाहालले बताए।
बाढी प्रभावित क्षेत्रमा पर्साबाट विभिन्न कामका सिलसिलामा गएका नागरिक सम्पर्कविहीन भएपछि उनीहरूका परिवार तथा आफन्त चिन्तित बनेका छन्। जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको अवस्था पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ।
प्रशासनले बाढी प्रभावित क्षेत्रमा फसेका तथा सम्पर्कविहीन नागरिकको विवरण संकलन, खोजी तथा उद्धारका लागि सम्बन्धित जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ।
प्रकाशित: १८ भाद्र २०८३ २०:५३ बिहीबार





