रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि अहिलेसम्म एक हजार १० वटा शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २०९ महिला, ३८५ पुरुष र ३५१ आंशिक अंग रहेका छन्।
पहिचान नभएका ८४७ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ। त्यस्तै, ५६ वटा शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ भने लास जाँच मुचुल्काको संख्या ९२७ पुगेको छ। शव व्यवस्थापनअन्तर्गत ५८१ वटा शव जमिनमा गाडिएको छ। तीमध्ये १२१ महिला, १९८ पुरुष र २६२ जनाको विवरण नखुलेको प्रहरीले जनाएको छ।
खोज, उद्धार तथा राहत कार्य जारी छ। प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ। बाढीबाट ६५ प्रहरी प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन छन्। प्रहरीका अनुसार कुल चार हजार ५९९ जना बेपत्ता रहेका छन्।
बाढीबाट प्रभावित तथा उद्धार गरिएका मानिसलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। त्यहाँ कुल तीन हजार ४५३ जना रहेका छन्। नुवाकोटमा दुई हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौंमा ३२९ जना रहेका छन्।

प्रकाशित: १६ भाद्र २०८३ १२:५० मंगलबार





