१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

भोजपुरको देउराली उद्यान : युवाको सक्रियताले नयाँ आकर्षण

देउरालीमा निर्माण गरिएको उद्यान (पार्क) अहिले जिल्लामा आउने आगन्तुकका लागि मन रमाउने सुन्दर स्थल बनेको छ। स्थानीय युवाको सक्रियता र सामूहिक प्रयासका कारण यो स्थान अहिले जिल्लाको नयाँ पहिचान बन्दै गएको छ।

यस उद्यानको संरक्षण र सरसफाइमा बिहानी फुटबल क्लबका युवाहरूको निरन्तर योगदान रहेको सचिव रिपेश भुजेलले जानकारी दिए। युवाहरूले राष्ट्रिय झण्डा, फूलका गमला र बस्नका लागि फलैंचा निर्माण गरेर उद्यानलाई आकर्षक र व्यवस्थित बनाएका छन्। उद्यानको प्रवेश भागमा खुकुरीको प्रतिमा स्थापनाले यहाँ आउने आगन्तुकको ध्यान झन् बढी तान्ने गरेको छ। यहाँ भोजपुर नगरपालिकाले खुकुरीको प्रतिमा निर्माण गरेको हो।

क्लबका युवाहरूले राखेका राष्ट्रिय झण्डाको नियमित हेरचाह र फेरबदलसमेत गर्दै आएका छन्, जसले पार्कलाई सदैव स्वच्छ र आकर्षक बनाएको छ। युवाको सक्रियताबाट प्रेरित भई यहाँका अन्य समाजसेवीहरूले पनि व्यक्तिगत पहलमा फलैंचा निर्माण र सजावटमा सहयोग गरेका छन्।

युवाहरूको यस निरन्तर प्रयासले देउराली सुन्दरसँगै भोजपुरकै गर्वको स्थल बन्ने दिशामा अघि बढेको सुरुआती अभियान सञ्चालन गरेका युवा प्रकाश किरातले बताए। युवाहरूले थालेको अभियानलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोगले पूर्णता दिएको उनको भनाइ छ।

सुन्दर प्राकृतिक दृश्यले सजिएको देउराली उद्यान अहिले फुर्सदको क्षण बिताउने र दृश्यावलोकन गर्ने प्रमुख स्थल बनेको छ। बिहान र साँझको समयमा यहाँ दर्जनौं आगन्तुकहरू प्रकृतिको आनन्द लिन आउने गरेका छन्। रासस

प्रकाशित: १६ कार्तिक २०८२ ०८:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App