२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

प्रचार अभावले ओझेलमा ‘छरछरे पखुवा देवस्थल’

भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा परेको छ। प्राकृतिक रूपमा सुन्दर र शान्त वातावरण रहेको यो स्थल पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो।

स्थानीयवासीका अनुसार यस देवस्थलमा प्रत्येक वर्ष वैशाख पूर्णिमाका अवसरमा विशेष पूजा आराधना गर्ने परम्परा रहिआएको छ। उक्त अवसरमा टाढाटाढाबाट श्रद्धालु भक्तजन आउने गरेका छन्। यहाँ दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। साथै, यहाँको पानीमा नुहाएमा घाउखटिरा वा छालासम्बन्धी समस्या निको हुने विश्वाससमेत छ।

देवस्थलमा पूजा गरेपछि चिताएको पुग्ने र रोग निको हुने विश्वास रहेको स्थानीयवासी सुविन राईले बताए। “छरछरे पखुवा देवी ओझेलमा परेको छ। यो स्थानको उचित प्रचारप्रसार हुन सके धार्मिक पर्यटनको राम्रो सम्भावना छ”, उनले भने।

यो देवस्थल भोजपुर–लेगुवा सडकखण्डअन्तर्गत पर्ने हिलेभञ्ज्याङबाट करिब तीन किलोमिटरभित्र छ। पछिल्लो समय स्थानीय तह तथा समुदायको सक्रियतामा उक्त देवस्थलको भौतिक विकासको प्रक्रिया अघि बढाइएको छ। देवदेवीका मूर्तिको संरक्षणका लागि घेराबारा निर्माण गरिएको छ भने श्रद्धालु तथा पर्यटकलाई सहज आवतजावतका लागि सिँढीसहितको पदमार्ग निर्माण गरिएको छ।

प्राकृतिक रूपमा अत्यन्त मनमोहक र अलौकिक अनुभूति दिने यो स्थान धार्मिक पर्यटनका लागि उपयुक्त गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ। हरियाली वन, स्वच्छ वातावरण र धार्मिक आस्थाको सङ्गमले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ। व्यवस्थित योजना, प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयवासीको भनाइ छ।

देवस्थलको दर्शनका लागि पुग्नुभएका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले देवस्थललाई धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न पर्याप्त सम्भावना रहेको बताए। प्राकृतिक सौन्दर्य र धार्मिक आस्था दुवै रहेको यस स्थललाई योजनाबद्ध रूपमा प्रवर्द्धन गर्न सके जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने उनको भनाइ छ।

स्थानीयवासीका अनुसार देवस्थलको संरक्षण र प्रवर्द्धनका लागि थप लगानी आवश्यक छ। सूचना पाटी, विश्रामस्थल, खानेपानी, सरसफाइ तथा आवासको व्यवस्था गर्न सके यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनीहरूको भनाइ छ।

प्रकाशित: १ श्रावण २०८३ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App