२६ कार्तिक २०८३ बिहीबार
image/svg+xml
समाज

भीमफेदी इभी दुर्घटनाः चालकको पहिचान खुल्यो, घाइतेको सङ्ख्या छ

मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा आज भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ।

इभी चालक सर्लाही कविलासी नगरपालिका-८ का रविशङ्कर कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

प्रहरीका अनुसार उक्त दुर्घटनामा १० जनाको मृत्यु हुनका साथै छ जना घाइते भएका छन्। मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका छन्। दुर्घटनाका घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै छ।

काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक इभी बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकबाट झन्डै ५०० मिटर तल झरेको थियो।

अन्य मृतकको पहिचान तथा दुर्घटनाका कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए।

प्रकाशित: २६ कार्तिक २०८३ १२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App